काठमाडौँ । नेकपा माओवादी केन्द्र सदन संचालनका लागि गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि नहटेपछि प्रमुख तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ ।
सोमबार अपरान्ह प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुटेका थिए ।
छलफलमा माओवादीले गृहमन्त्रीको राजीनामा अडान नछाडेपछि बैठक निष्कर्षविहीन भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा ओली र देउवाले सदन संचालनका लागि प्रचण्डलाई आग्रह गरेका थिए ।
ओली र देउवाले कर्मचारीको कुरा भएकाले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएका थिए । तर माओवादीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान राखेको थियो ।
प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले संसद संचालनकाबारेमा राखेको प्रस्तावमा प्रतिपक्षले थप छलफल गर्दै अघि बढ्ने जवाफ दिएको जानकारी दिए ।
मङ्गलबारबाट संसद्मा बजेटमाथि छलफल गर्ने कार्यसूची छ । तर प्रतिपक्षीको अडानले छलफल अघि बढ्ने नबढ्ने अनिश्चित भएको छ । विपक्षीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएकोमा बजेट ल्याउन भने दिएका थिए ।