बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी चलचित्र टासीको छायांकन सुरु भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथामा आधारित उक्त चलचित्रको आइतबारदेखि बन्दीपुरमा छायांकन सुरु भएको हो ।

बन्दीपुरमा उक्त चलचित्रको छायांकनका लागि बन्दीपुर बजारलाई पुरानो शैलीमा सिँगारिएको छ । बन्दीपुरलाई पुरानो दार्जिलिङ बनाएर छायांकन गर्न लागिएको हो । करिब एक साताको तयारीपश्चात् चलचित्रको छायांकन सुरु गरिएको हो ।

बन्दीपुर आसपासका विभिन्न उमेर समूहका करिब तीन सय स्थानीयलाई दैनिक रु. एक हजारदेखि रु. एक हजार पाँच सयसम्म पारिश्रमिक दिएर कलाकारको रूपमा प्रयोग गरिएको छ । बन्दीपुरमा तीन दिनसम्म चलचित्रको छायांकन हुने जनाइएको छ।

बन्दीपुरमा विदेशी चलचित्रको छायांकन भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । होटेल तथा पर्यटन व्यवसायी किसान प्रधानले विदेशी चलचित्रको छायांकनले यस क्षेत्रको प्रचारप्रसार हुने बताए । चलचित्र टोली एक सातादेखि बन्दीपुरमा बसिरहेको र यसले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उनको भनाइ छ ।

चलचित्र छायांकनले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैंसबहादुर गुरुङले जानकारी दिए । उनले भने, ‘विदेशी चलचित्रको छायांकनका लागि बन्दीपुर रोजाइमा पर्नु हाम्रा लागि खुसीको कुरा हो, यसले यहाँको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्नेछ ।’

सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर चलचित्र निर्माण गर्न लागिएको जनाइएको छ । अमेरिकी कम्पनी एप्पलले यो चलचित्रको निर्माण गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *