काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिममन्त्री दामोदर भण्डारीले चिनियाँ सरकारको तर्फबाट भएका सम्झदारीहरु उत्साहका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको बताएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणबाट फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री भण्डारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणबाट दुई देशबीचका साझा मान्यता, सम्झौता र सम्झदारीलाई पुनःताजकी गर्ने एउटा सद्भाव भ्रमणको रहेको भन्दै यसमा चिनियाँ सरकारको सकारात्मक प्रतिबद्धता आएको बताएका हुन् ।
उनले यसअघि भएका सहमतिहरुलाई पुनःताजकी र कार्यान्वयन गर्ने कुरामा चिनियाँ सरकारको तर्फबाट उत्साहका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको बताए ।
यस्तै, उनले दुई देशबीचको सम्बन्धलाई अझ उन्नत रुपबाट अगाडि बढाउने, आपसी सम्बन्धहरुलाई मजवुद बनाउने विषयमा पनि छलफल भएको बताए ।
राजधानी बेइजिङ र गान्सुमा उच्चस्तरीय भेटवार्ता तथा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँगको संवाद र सभ्यतासँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गरेर भण्डारी नेतृत्वको टोली सिचुआन प्रान्तको छेन्दु हुँदै सोमबार स्वदेश फर्किएको हो ।
चीन भ्रमणका क्रममा भण्डारीले चिनियाँ उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख व्यक्तित्वहरुसँग भेटवार्ता गरेकी थिइन् ।
एमाले नेताहरु र सरकारका मन्त्रीसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत जेठ १० गते चीन भ्रमणमा गएकी भण्डारी आफ्नो १० दिने भ्रमण पूरा गरी सोमबार बिहान नेपाल फर्किएकी हुन्।
भ्रमण टोलीमा नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, एमाले नेता कर्ण थापा लगायत थिए।