प्रधानमन्त्री, मन्त्री र नेताहरुको दिनचर्या–शिलान्यास, उद्घाटन र राजालाई गाली !

-शारदाप्रसाद त्रिताल

आजकल सरकारी तथा विपक्षी मुखियाहरुको मुख्य काम नै शिलान्यास, उद्घाटन र राजालाई गाली गर्नु मात्र हो कि जस्तो देखिएको छ । राजालाई गाली गर्न भने सबैको साझा काम बनेको छ । मुखियाहरु एकातिर भाडामा ल्याइएका दुई चार सय मान्छेले नारा लगाउँदैमा राजा ल्याइँदैन भनेर तर्क गर्छन् भने अर्कोतिर देशको सबैभन्दा ठूलो समस्या नै राजावादी हुन् झैं गरेर फलाकेर हिंड्छन् । अझ रमाइलो विषय त के छ भने स्वास्थ्य चौकी भवन शिलान्यास वा उद्घाटन गर्दा होस् वा ग्रामीण सडक शिलान्यास वा उद्घाटन गर्दा होस् भाषणको मुख्य विषय चाहिं राजालाई गाली गर्नु नै हुने गर्छ ।

सरकारी मुखियालाई त गाउँपालिकाका अध्यक्ष वा नगरपालिकाका प्रमुखले गर्ने स्तरका शिलान्यास र उद्घाटन गर्दैमा फुर्सद छैन । प्रदेशस्तरका मुखियाहरु त झन् हेरेको हेर्यै भएका छन् । अनि संघीयताका पक्षधरहरु दलगत संलग्नताका आधारमा मुखियाहरुको कार्यक्षेत्रको समर्थन वा विरोध गरेर दिन कटाइरहेका छन् । मुखिया र तिनका आसेपासेलाई आफ्ना मुखियाको बोलीमा लोली मिलाउन र विरोधीका बोलीमा टिकटक बनाउँदै ठिक्क छ ।

राष्ट्रिय सरकारी मुखियाका दर्जनौ सल्लाहकार र विज्ञहरुले कुन स्तरका कार्यक्रम राष्ट्रिय मुखिया र कुन स्तरका कार्यक्रमको प्रदेश वा स्थानीयस्तरका मुखियाले शिलान्यास वा उद्घाटन गर्ने भनेर मापदण्ड बनाउन सल्लाह पनि दिंदैनन् कि के हो ? उनीहरुलाई पनि नियुक्ति तथा सरुवातरुवामा ध्यान दिनु पर्ने भएर व्यस्त रहनु परेको होला शायद । सार्वजनिक खरिदका विषयमा र विचौलियालाई सहयोग गर्नाले पनि उनिहरुलाई फुर्सद नभएको हुन सक्छ । देश समृद्धिको उच्चतम विन्दुमा पुगेकोले होला, मुखियाहरु यति धेरै फुर्सदिला भएका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *