रूसमा युक्रेनको सबैभन्दा ठूलो ड्रोन आक्रमण, चार सैन्य अखडा निशानामा

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘स्पाइडर वेब’ नाम दिइएको विशेष अपरेसनमार्फत ११७ ड्रोन प्रयोग गरिएको जानकारी दिएका छन् ।

तीमध्ये ३४ प्रतिशतले रूसका रणनीतिक क्रूज मिसाइल बोक्ने बमवर्षक विमानहरूमा सिधा प्रहार गरेको बताइएको छ । एसबीयू स्रोतका अनुसार सो अपरेसन तयार पार्न १८ महिना लागेको थियो ।

उनीहरूका अनुसार ड्रोनहरूलाई काठका केबिनभित्र लुकाइएकै ट्रकमार्फत रूसी सैन्य अखडाहरू नजिक पुर्याइएको थियो । छानाहरू टाढाबाट खोलिने प्रणाली रहेको ती ट्रकहरूबाट ड्रोनहरू ‘सही समयमा’ प्रक्षेपण गरिएको थियो ।

रूसी अधिकारीहरूले युक्रेनी आक्रमणको पुष्टि गर्दै यसलाई ‘आतङ्कवादी कार्य’ भनेका छन् । रूसी सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा कमाज ट्रकबाट ड्रोन उडिरहेको देखिएको बताइएको छ।

युक्रेनी पक्षले ट्रकहरू पेट्रोल पम्प नजिकै राखेर आक्रमण सुरु गरेको आशंका गरिएको छ । राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्दै अपरेसनमा संलग्न सबै व्यक्तिहरूलाई रूसबाट सुरक्षित रूपमा निकालिएको जानकारी दिएका छन् ।

युक्रेन र रूसबीचको तनावपूर्ण स्थिति कायमै रहँदा दुवै देशका प्रतिनिधिहरू सोमबार टर्कीको इस्तानबुलमा दोस्रो चरणको शान्ति वार्तामा सहभागी हुने तय भएको छ।

तर, विश्लेषकहरूले वार्ताबाट ठूलो प्रगति हुने सम्भावना न्यून रहेको बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण–स्तरीय आक्रमण सुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *