इरानद्वारा आईएईएको प्रतिवेदन खारेज, राजनीतिक पूर्वाग्रहको आरोप

तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए) पछिल्लो प्रतिवेदनलाई ‘राजनीतिक उद्देश्यले प्रेरित’ र ‘सन्तुलनविहीन’ भएको भन्दै कडा आलोचना गरेको छ ।

परराष्ट्र मन्त्रालय र इरानको आणविक ऊर्जा संस्थाले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्,“उक्त प्रतिवेदनले इरानले देखाएको सहयोगको स्तरलाई सत्यतासँग मेल खाने गरी प्रस्तुत गरेको छैन । बरु यसले अनावश्यक भ्रम फैलाउने काम मात्र गरेको छ ।”

आईएईएको सो प्रतिवेदनमा इरानले केही अघोषित स्थानहरूमा भेटिएको आणविक सामग्रीको बारेमा स्पष्ट विवरण नदिएको र सहकार्य असन्तोषजनक रहेको जनाइएको छ । यसमा अघिल्ला वर्षहरूमा पत्ता लागेका युरेनियमका अंशहरूबारे अझै स्पष्ट जानकारी नआएको समेत उल्लेख गरिएको छ ।

यो प्रतिवेदन अमेरिका र इरानबीच अप्रिलदेखि ओमानको मध्यस्थतामा हुँदै आएको अप्रत्यक्ष वार्ताका बिच सार्वजनिक भएको हो । हालसम्म मस्काट र रोममा गरी पाँच चरणका वार्ता सम्पन्न भइसकेका छन्, जसमा इरानको आणविक कार्यक्रम र त्यसमाथि लागेका प्रतिबन्धबारे छलफल भइरहेको छ ।

इरानले आफूले परमाणु हतियार नफैलाउने सन्धि (एनपिटी) र अन्तर्राष्ट्रिय निगरानी सम्झौताअनुसार सधैं पारदर्शी रूपमा सहकार्य गर्दै आएको दाबी गरेको छ । वक्तव्यमा भनिएको छ,“दुर्भाग्यवश, यति धेरै सहयोगका बाबजुद पनि आईएईएको प्रतिवेदनले हाम्रो प्रयासलाई न्याय गर्न सकेन ।”

इरानले अमेरिका, बेलायत, फ्रान्स र जर्मनीमाथि सन् २०१५ मा गरिएको आणविक सम्झौता (जेसीपीओए) र संयुक्त राष्ट्र सुरक्षा परिषद्को निर्णय २२३१ को उल्लङ्घन गर्दै बारम्बार ‘अवैधानिक प्रतिबन्ध र राजनीतिक दबाब’ सिर्जना गरेको आरोप लगाएको छ ।

तेहरानले चेतावनी दिँदै भन्यो,“यदि आगामी असार २ गते हुने आईएईए बोर्ड अफ गभर्नर्सको बैठकमा यो प्रतिवेदनलाई आधार मानी हाम्रो विरुद्ध कुनै कदम चालियो भने, इरानले पनि आफ्ना अधिकार र हित जोगाउन आवश्यक प्रतिकार गर्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *