एजेन्सी । कप्तान श्रेयस आयरको विस्फोटक ब्याटिङको मद्दतमा पञ्जाव किंग्स इन्डियन प्रिमियर लिग(आईपीएल)को फाइनलमा पुगेको छ । आइतबार राति भएको दोस्रो क्वालिफायारमा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै पञ्जाव ११ वर्षमा पहिलोपटक फाइनलमा पुगेको हो ।
जितको लागि २ सय ३ रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले १९ ओभरमा ५ विकेटको क्षतिमा २ सय ७ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । पञ्जावको लागि श्रेयस आयरले ४१ बलमा ८ छक्का र ५ चौकाको मद्दतमा सर्वाधिक ८७ रन बनाए । यस्तै नेहाल वाधेराले ४८, जोश इंग्लिसले ३८ र प्रियांश अर्याले २० रनको योगदान गरे ।
मुम्बईको लागि अश्वानी कुमारले दुई विकेट लिँदा हार्दिक पान्डय र र ट्रेन्ट बोल्टको एक/एक विकेट लिए ।
अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३ रन बनाएको थियो । मुम्बईको लागि सुर्य कुमार यादव र तिलक वर्माले समान ४४/४४ रन बनाउँदा जोनी बैर्स्ट्रोले ३८, नमन धिरले ३७ र हार्दिक पान्डयले १५ रनको योगदान गरे ।
पञ्जावको लागि अज्मातुल्लाह ओमारजाइले दुई विकेट लिँदा कायल जेमिसन, मार्कुस स्टोइनिस, विजयकुमार वैशक र युज्वेंद्र चहालले एक/एक विकेट लिए ।
जितसँगै पञ्जाव फाइनलमा पुग्दा मुम्बई भने प्रतियोगिताबाट बाहिरिएको छ । अब पञ्जावले मंगलबार हुने फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुको सामाना गर्नेछ । बैंगलुरु पहिलो क्वालिफायरमा पञ्जावलाईनै हराउँदै फाइनलमा पुगेको थियो ।