कमल थापासहित ७ जना रिहा

काठमाडौँ । काठमाडौँको नारायणचौरमा आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री कमल थापासहित सात जनालाई रिहा गरिएको छ ।

निषेधित क्षेत्र तोड्न खाजेपछि आइतबार दिउँसो पक्राउ गरिएकामा राति सात जनालाई छाडिएको र एक जनालाई भने हिरासतमै राखिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

प्रदर्शनमा सुरूमा ६ जना र पछि दुई गरी आठ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये रौतहट घर भएका हिन्दूवादी धार्मिक अभियन्ता बताउने डा राजीव झाले मापसे गरेर प्रहरीलाई गालीगलौजसमेत गरेकाले हिरासतमै राखिएको बोहराले बताए ।

रिहा हुनेमा थापासहित सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमिका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली, भक्तपुरका सरोज तिमिल्सिना छन् ।
राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि उपत्यकामा प्रदर्शन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *