काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत सार्वजनिक भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भुसालको ‘स्वर्ग यहीँ लुकेको छ’ र ‘थरिथरि पात झरे’ बोलका गीतहरु गणतन्त्र दिवस, २०८२ का अवसरमा सार्वजनिक भएका हुन् ।
दिवसको अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेल आयोजित कार्यक्रममा डा भुसालको ‘स्वर्ग यहीँ लुकेको छ’ बोलको गीतमा कलाकारहरुले पहिलो पटक सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।
गैरे सुरेशको सङ्गीत रहेको ‘स्वर्ग यहीँ लुकेको छ’ बोलको जागरण गीत स्वरूपराज आचार्य, रूपा गुरुङ, अञ्जली राई र रमिला मगरले गाएका छन् । यस गीतले नेपाल बनाउने देवदूत अरु कोही होइन, हामी प्रत्येक नेपाली हौं भन्ने वास्तविकतालाई स्वीकार गरेर राष्ट्र निर्माणमा जुट्न आह्वान गरेको छ ।
यो देशलाई स्वर्ग जस्तै सुन्दर बनाउन प्रेरणा दिन्छ भने रामकृष्ण ढकालको स्वर, बिबी अनुरागीको ‘एरेन्ज’मा उत्तम पौडेलको सङ्गीत रहेको ‘थरिथरि पात झरे’ बोलको गीतले वृद्धावस्थामा हुने मनोदशा प्रस्तुत गरेको छ ।