स्टिल र आल्मुनियममा ५० प्रतिशत कर वृद्धि गर्ने ट्रम्पको घोषणा

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा आगामी हप्तादेखि ५० प्रतिशतसम्म कर वृद्धि गर्ने घोषणा गरेका छन् ।

पेन्सिलभेनियास्थित अमेरिकी स्टिल प्लान्टका  श्रमिकलाई सम्बोधन गर्दै उनले भने, “हामी यसलाई २५ प्रतिशतबाट ५० प्रतिशत बनाउन गइरहेका छौँ ।”

गत वर्षको चुनावमा विजय हासिल गर्न सहयोग पुर्याएको अमेरिकी राज्य पेन्सिलभेनियामा नीलो रङको पहिरनमा भेला भएका कार्यकर्तासामु उनले भने, “कोही पनि यसको वरिपरि पुग्नेवाला छैन।”त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलको पोस्टमा लेखेका छन्, “बुधबार, जुन ४ देखि लागू हुने गरी नयाँ करसहित एल्युमिनियममा पनि उच्च दर लागू हुनेछ ।”

गत जनवरीमा राष्ट्रपतिका रूसमा पुनः ह्वाइट हाउसमा फर्केपछि ट्रम्पले विश्व व्यापार व्यवस्थालाई झकझक्याउने र वित्तीय बजारलाई तहसनहस पार्ने गरी आफ्ना सहयोगी र प्रतिद्वन्द्वीमाथि व्यापक कर लगाएका छन् ।

उनले सवारी साधन (अटोमोबाइल्स) जस्ता वस्तुहरूलाई असर गर्ने क्षेत्र–विशिष्ट करहरू पनि जारी गरेका छन् ।

शुक्रबार उनले आफ्नो व्यापार नीतिको बचाउ गर्दै करवृद्धिले अमेरिकी उद्योगको सुरक्षामा सहयोग गरेको तर्क गरेका थिए ।

उनले भने, “आफ्नो पहिलो प्रशासनको समयमा स्टिल र आल्मुनियमजस्ता धातुहरूको आयातमा पनि कर नलगाएको भए यो क्षेत्र अस्तित्वमा हुने थिएन।”

गत साता ट्रम्पले अमेरिकी स्टिलको मुख्यालय पिट्सबर्गमा रहने र निप्पोनसँगको सम्झौताले कम्तीमा ७० हजार रोजगारी सिर्जना हुने र अमेरिकी अर्थतन्त्रमा १४ अर्ब डलर थपिने बताएका छन् ।

पेन्सिलभेनियामा ट्रम्पले भने, “आफ्नो प्रतिबद्धताको एक भागको रूपमा, निप्पोनले ‘मोन भ्याली वक्र्स–इरविन प्लान्ट’मा इस्पात उत्पादन बढाउन २.२ अर्ब डलर लगानी गर्नेछ। थप सात अर्ब डलर स्टिल मिलको आधुनिकीकरण, अयस्क खानी विस्तार र इन्डियाना र मिनेसोटालगायतका स्थानमा निर्माण सुविधाका लागि खर्च हुनेछ ।”

निप्पोन स्टिललाई १४ अर्ब ९० करोड अमेरिकी डलरमा अमेरिकी स्टिल बिक्री गर्ने प्रस्तावको यसअघि दुवै पक्षबाट राजनीतिक विरोध भएको थियो । पूर्व राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा केही समयअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यो सम्झौता रोकेका थिए । नयाँ साझेदारीलाई लिएर चिन्ता कायमै छ ।

अमेरिकी स्टिल कारखानामा कार्यरत हजारौँ प्रतिघण्टा कामदारको प्रतिनिधित्व गर्ने युनाइटेड स्टिलवर्कर्स युनियन (यूएसडब्लु) ले ट्रम्पको भाषणपछि निप्पोन स्टिल र ट्रम्प प्रशासनसँग सम्बन्धित छलफलमा भाग नलिएको र यस सम्बन्धमा ‘आफूहरूसँग परामर्श नगरिएको’ बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *