सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने

काठमाडौँ । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

आज यहाँस्थित काठमाडौँ महानगरपालिका–७, स्वास्थ्य मन्त्रालय र हेल्थ टुडे मिडियाको संयुक्त आयोजनामा ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी सरोकारवालाहरुबीच अन्तरक्रिया’ गरेको थियो ।

सो अन्तरक्रियामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीले सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन सङ्घीय सरकारको प्रयासले मात्र सम्भव नहुने बताए । स्थानीय सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

नेपालमा नसर्ने रोगको बढ्दो प्रकोपका कारणमध्ये सुर्तीजन्य पदार्थको सेवन  प्रमुख भएको बताउँदै डा केसीले कानुनले सार्वजनिक स्थालमा सुर्तीजन्य पदार्थ सेवन निषेध गरे पनि व्यवहारमा पालना हुन नसकेको औँल्याए ।

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउन स्थानीय सरकारले कदम चाल्नुपर्ने र यसले धेरै हदसम्म कानुन कार्यान्वयन हुने डा केसीको भनाइ छ । उनले भने, “नेपालमा वर्सेनि ३० हजार मानिसको मृत्युको कारण सुर्तीजन्य पदार्थ सेवन हो । यो तथ्याङ्कमा सबैले ध्यान दिन आवश्यक छ ।”

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अनुसन्धान विज्ञ डा जयकुमार गुरुङले सुर्तीजन्य पदार्थमा करको दर बढाउनुपर्नेमा हिजो ल्याएको बजेटमा एकदमै न्यून रुपमा कर बढाएकोमा आपत्ति जनाए । डा गुरुङले खुद्रा व्यापारीले अनिवार्य रुपमा वडामा दर्ता गराएर मात्र सुर्तीजन्य पदार्थ बिक्री  गर्ने व्यवस्था गर्नुपर्ने र सार्वजनिकस्थलको १०० मिटर दूरीभित्र्र   स्थानीय निकायले बेचविखन गर्न दिन नहुनेमा जोड दिए ।

डा गुरुङले भन्नुभयो, “काठमाडौँ महानगरपालिकाका सबै वडाहरुले एकीकृत रणनीतिक योजना बनाएर अगाडि बढ्नुपर्छ ।” उनले इलाम नगरपालिका र वालिङ नगरपालिकाले उत्कृष्ट काम गरेको उदाहरण प्रस्तुत गर्दै कामपाले पनि गर्न सक्ने बताए ।

काठमाडौँ महानगरपालिका–७ का वडा अध्यक्ष विमलकुमार होडाले आफु चार दशकदेखि सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनमा सक्रिय भइरहेको बताए । सरकारले बन्द भएको जनकपुर चुरोट कारखाना फेरि खोल्ने बजेटमार्फत गरेको घोषणाको विरोध गर्दै वडाध्यक्ष होडाले चुरोट कारखाना खोल्नेभन्दा औषधि कम्पनी खोल्नुपर्नेमा जोड दिए । सुर्तीजन्य पदार्थ नियन्त्रणमा आफ्नो वडालाई नमूना वडाको रुपमा विकास गर्ने होडाले दाबी गरे ।

कार्यक्रममा वरिष्ठ स्वास्थ्य पत्रकार एवं हेल्थ टुडे मिडियाका अध्यक्ष पदमराज जोशीले सुर्तीजन्य पदार्थ सेवन गर्नु फाइदाजनक नभएको धेरैलाई जानकारी भए पनि चेतनाको अभावमा व्यवहारमा लागू गर्न नसकिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *