एजेन्सी । इंग्लिस क्लब लिभरपुलका स्टार फुलब्याक ट्रेन्ट एलेक्जान्डर-आर्नोल्ड स्पेनिस जायन्ट रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । शुक्रबार क्लबले उनको अनुबन्धको आधिकारिक घोषणा गरेको हो ।
२६ वर्षीय आर्नोल्डको लिभरपुलसँगको सम्झौता यसै जुनमा समाप्त हुँदै थियो । तर क्लब विश्वकप जुन १४ मा सुरु हुनुअघि नै उनी टोलीमा समावेश हुन् भन्ने उद्देश्यले म्याड्रिडले लिभरपुललाई स्थानान्तरण शुल्क तिर्दै उनलाई अनुबन्ध गरेको हो । सञ्चारमध्यमका अनुसार म्याड्रिडले आर्नोल्डको लागि लिभरपुललाई १० मिलियन युरो तिर्नेछ ।
नयाँ मुख्य प्रशिक्षक जाबी अलोन्सोको आगमनसँगै आर्नोल्ड म्याड्रिडमा अनुबन्धित दोस्रो खेलाडी हुन् । यसअघि क्लबले बर्नमाउथबाट डिन ह्युजसनलाई अनुबन्ध गरिसकेको छ । म्याड्रिडसँग आर्नोल्डले ६ वर्षको सम्झौता गरेका छन् ।
आर्नोल्डले लिभरपुलबाट ३ सय ५४ खेल खेल्दै टोलीलाई दुई प्रिमियर लिग र एक च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यस्तै उनी प्रिमियर लिगको इतिहासमा सबैभन्दा धेरै एसिस्ट(६४) प्रदान गर्ने खेलाडीपनि हुन् ।