काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच एन्फा यु-१६ युथ लिग सम्बन्धी छलफल आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न भएको छ ।
छलफलमा लिग यही २०८२ सालको असार २० गतेबाट सुरु गर्ने निर्णय गरिएको छ । साथै, सहभागी प्रत्येक क्लबलाई तयारी खर्चस्वरूप रु ३,५०,००० प्रदान गर्ने निर्णय पनि बैठकमा गरिएको छ।
प्रतियोगितामा सहभागी क्लबहरूले खेलाडी दर्ताका क्रममा अनिवार्य रूपमा नाबालक परिचयपत्र पनि पेश गर्नुपर्ने छ । क्लबहरूले न्यूनतम खेलाडीहरू असार १५ गतेसम्म अनिवार्य रूपमा दर्ता गरिसक्नुपर्नेछ । त्यस्तै, क्लब दर्ता असार ५ गतेसम्म गर्नुपर्नेछ भने प्रतियोगिताको खेल तालिका असार १६ गते सार्वजनिक गरिनेछ ।
एन्फाका महासचिव किरण राईको उपस्थितिमा सम्पन्न छलफलमा एन्फा केन्द्रीय सदस्यहरू मनिष जोशी, पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ, प्रवक्ता सुरेश शाह, सिइओ इन्द्रमान तुलाधर तथा ए डिभिजन क्लबहरूको प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।