एजेन्सी । इंग्लिस क्लब चेल्सीले युईएफए कम्फ्रेन्स लिगको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा स्पेनिस क्लब रियल बेटिसलाई ४-१ गोलले हराउँदै चेल्सीले उपाधि जितेको हो ।
पोल्याण्डमा भएको फाइनल खेलमा चेल्सीलाई जित दिलाउन इन्जो फर्नान्डेज, निकोलस ज्याक्सन, जेडन सान्चो र मोइसेस काइसेडोले समान एक/एक गोल गरे । बेटिसको लागि अब्देसमद इज्जाल्जोउलीले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा बेटिस पराजित हुन पुगेको हो । खेलको नवौं मिनेटमा इज्जाल्जोउलीले गोल गर्दै बेटिसलाई शुरुवाती अग्रता दिलाएका थिए ।
६५ औं मिनेटमा इन्जोले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए । ७० औं मिनेटमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई २-१ गोलको अग्रता दिलाएका थिए । ८३ औं मिनेटमा सान्चोले गोल गरेसँगै चेल्सी सहज जिततर्फ अग्रसर भएको थियो ।
यस्तै दोस्रो हाफको इन्जुरी समयमा काइसेडोले गोल गर्दै चेल्सीलाई ४-१ गोलको जित दिलाएका हुन् । जितसँगै चेल्सी युईएफको चार छुट्टाछुट्टै प्रतियोगिता जित्ने पहिलो क्लब बनेको छ ।