-जेपी गुप्ता
अन्तरपार्टी प्रतिस्पर्धामा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको यात्रा यता छलाङमा बदलिएको छ । खासगरी पार्टी सभापति शेरबहादुर देउवा र गठबन्धनका प्रधानमन्त्री केपी ओलीका प्रति उहाँको प्रहार तीक्ष्ण हुँदै गएको छ। यसले मेरो मन मनमा केही जिज्ञासाहरू उत्पन्न भएको छ ।
१. संसदमा नेपाली कांग्रेसको संख्यात्मक स्थितिले एक्लो नेपाली कांग्रेसको सरकार बन्ने कुनै सम्भावना छैन । कुनै पनि हालतमा । यदि, नेपाली कांग्रेस सत्तामा रहनु छ भने प्रष्टतः विकल्पहरू छन्ः
क) माओवादी र नेपाली कांग्रेसको गठबन्धन सरकार बनोस् । यसको नेतृत्व माओवादीले गरोस् वा नेपाली कांग्रेसले यस्तो भैसकेको छ । माओवादीले नेपाली कांग्रेसको नेतृत्व मानेन । माओवादीको नेतृत्वमा नेपाली कांग्रेसलाई सहज रहेन । यसमा भारत÷चीनको ईच्छाले पनि उतिकै प्रभाव पारेको हो ।
ख) माओवादी वा एमालेको नेतृत्वमा सरकार बनोस् । यस्तो सरकार बनेकै हो । यस अवस्थामा नेपाली कांग्रेसको भूमिका प्रतिपक्षको हो, जुन नेपाली कांग्रेसका लागि सह्य रहेन र अन्ततः कांग्रेस त्यस गठबन्धनमा विभाजनको लोभीपापी खेल खेल्नबाट आफूलाई राजनीतिक ब्रम्हचर्यको अनुशासनमा बाध्न सकेन ।
ग) अब, एमाले र कांग्रेसको गठबन्धन । जुन अहिले कायम छ, चल्दैछ । सरकारको नेतृत्व अहिले एमालेसँग छ, प्रधानमन्त्री ओलीको अद्यावधि भनाई अनुसार केहीपछि कांग्रेस सभापतिमा नेतृत्व जानेछ । नेपाली काँग्रेस भित्र सरकारको नेतृत्व यही संसदमा वा पार्टीको यही अवस्थामा डा. शेखर र्कोरालाकोमा जाने कहीं कतै कुनै संभावना देखिन्न ।
यस सन्दर्भमा मेरो जिज्ञासा छ–डा. शेखर के चाहनु हुन्छ ? उहाँको कित्ता के हो ? के उहाँ नेपाली कांग्रेसको भूमिका निरपेक्ष प्रतिपक्षको रहोस् भन्ने चाहेको हो भने न त उहाँले यो बुझिने गरि भन्न सक्नु भएको छ । न त सरकारमा आफ्ना मानिसहरूलाई न पठाएर व्यवहारतः उहाँले देखाउन सक्नु भएको छ ।
यदि उहाँले सरकारमा नेतृत्व एमालेको र हैकम वा हालिमुहाली काँग्रेसको खोज्नु भएको हो भने यो किमार्थ पनि सम्भव छैन । स्वयं उहाँको काँग्रेसले पनि आफ्नो पालोपैंचोमा यसो हुन दिने छैन। यो अभ्यास पुरानै हो ।
वामपन्थीसँग सत्ता सहकार्यका बारेमा डा. शेखरको विचार स्थिर देखिएन। माओवादी नेतृत्वको बेला माओवादीको काँधमा बन्दुक राखेर नेपाली कांग्रेस उपर प्रहार, एमाले नेतृत्वको बेला तिनको आलोचना गरेर देउवालाई तारो बनाउन खोज्ने जस्तो देखियो । फेरि केन्द्रमा एमालेको बिरोध र प्रदेशमा उनै एमालेको सहयोगमा आफ्ना सहकर्मीको सरकार बनाउने जस्तो बिरोधाभाष पनि देखिएकै हो ।
२. भ्रष्टाचारका बारेमा डा. साहेबको विचारमा पनि अलमल देखिन्छ। पूर्व गृहमन्त्री बालकृष्ण खाँणको प्रकरणमा शुरूमा डा. शेखर मौन देखिनु भयो । जब पार्टी सभापति देउवाले खाँणलाई जोगाउनु भएन, स्वयं खाँणको भाषा देउवाका खिलाफमा देखिइन थाल्यो, बालकृष्णसँग डा. शेखरको सम्पर्क बढ्दै गयो । आज भोलि बालकृष्ण डा. शेखरसँगै रहेको सुनिन्छ । हालै मुद्दामा परेका अर्का एक प्रमुख नेता पूर्वसंचारमन्त्री थापा यसअघि देउवासँग थिए । उनको पनि देउवासँग दुरी बढ्दै गयो । अहिले उनी उपर भ्रष्टाचारको मुद्दा लागेपछि डा. शेखरको कुनै प्रतिकृया देखिएको छैन । वर्तमान गृहमन्त्री रमेश लेखकका बारेमा डा. शेखरको प्रतिकृया बडो कठोर रूपमा आएको छ। यसबाट स्वयंको पार्टी भित्र शेखर कोइराला वि वादमा तानिनु भएको छ। गम्भीर रूपमा उहाँले गृहमन्त्रीको राजीनामाको माग गर्नु भएको छ भने आफू उपर पार्टीबाट आउन सक्ने स्पष्टीकरणको मागलाई पन्छाउनु पर्ने दायित्वमा पर्नु भएको छ । यस सवालमा डा. शेखरको अडान बाहिर लोकप्रिय देखिएपनि पार्टी भित्र उहाँको पक्ष निकै कमजोर छ।
पार्टी सभापति देउवाका विपक्षमा डा. शेखर एउटा भरपर्दो विकल्प हो । अनेक दृष्टिकोणबाट अपेक्षित विकल्प हो । यस निम्ति उपयुक्त वातावरण बनाउने दायित्व उहाँकै हो । आफ्नो पक्षलाई पहिरो जानबाट रोकेर थप शक्तिको आर्जन तथा सुरक्षणको रणनीति तर्जुमा गर्नु उहाँको बुद्धिमानी हुनेछ । यद्यपि यस निम्ति केही लेख्नु मेरो काम तथा उद्देश्य होइन । मैले त यति नै भन्न चाहेको हुँ कि यता तिर, हालसाल डा. शेखरका कुराहरू सुन्दा बढी ‘गनगन’ हुन लागेको हो कि ? सरकारका बारे सधैं गनगन, माओवादीका बारे पनि एमालेका बारे पनि। सरकारपनि चाहिने गनगन पनि गरिराख्ने ! कर्णप्रिय भएन कि डा. साहेब !