अमेरिकाद्वारा विदेशी विद्यार्थीहरुका लागि भिसा प्रक्रिया अस्थायीरुपमा बन्द

वासिङ्टन, डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थीहरूका लागि भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ ।

विदेशमन्त्री मार्को रुबियोका अनुसार अब नयाँ विद्यार्थी तथा एक्सचेन्ज भिसा अपोइन्टमेन्ट रोकिएको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार मंगलबार सार्वजनिक भएको उक्त ज्ञापनमा दूतावास तथा वाणिज्य दूतावासहरूलाई ‘नयाँ विद्यार्थी भिसा अपोइन्टमेन्टहरू नदिने’ निर्देशन दिइएको छ ।

यसका साथै, विदेश मन्त्रालयले सबै प्रकारका आवेदनका लागि सामाजिक सञ्जाल निगरानी थप कडा बनाउने तयारी गरिरहेको उल्लेख छ । यो निर्णयले अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरूलाई थप समस्या थपिएको छ।

हालै ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्ने अनुमति फिर्ता लिएको थियो, जसको कारण विश्वविद्यालयको फिलिस्तीन समर्थन प्रदर्शनप्रति देखिएको धारणा र विविधता कार्यक्रमसँग सम्बन्धित रहेको बताइएको छ।

यद्यपि, सो निर्णयलाई हाल एक संघीय न्यायाधीशले अस्थायी रूपमा रोक लगाएका छन् । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टेमी ब्रुसले सो ज्ञापनबारे प्रत्यक्ष टिप्पणी नगरे पनि भनिन्, ‘देशमा को प्रवेश गर्छ भन्ने विषयमा हामी अत्यन्त गम्भीर छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *