एमाले कार्यकर्तालाई जेठ १५ गते सडक कब्जा गर्ने आदेश दिइनु प्रधानमन्त्री पदको गरिमा खसाल्ने काम हो

-विजयकुमार पाण्डे ।

प्रधानमन्त्री पद– प्रमुख कार्यकारीमात्र होइन, संस्था पनि हो । कुनै पनि बहालवाला प्रधानमन्त्री पदमा कायम रहुन्जेल, त्यो संस्थाको मर्यादाको प्रमुख रक्षक पनि हुनुपर्छ । लोकतन्त्रको उच्चतम पदले त्यही अनुपातमा उच्च संयम, नैतिकता र उदारताको माग गर्छ । होइन भने भने, त्यो पदको गरिमा अवमूल्यन हुँदै जान्छ । जसले गर्दा अन्ततः आममानिसका नजरमा समस्त प्रणालीको इज्जत गिर्दै जान्छ ।मन्दिरको गरिमा जतिसुकै उच्च भएपनि, पुजारीको आचरणले त्यसको ख्याल गरेन भने–समाजमा संयम, गरिमा र शोभाको उदाहरण बाँकी रहँदैन ।

कुनै पनि जायज वा नाजायज बहानामा एमाले कार्यकर्तालाई जेष्ठ १५ गते सडक कब्जा गर्ने आदेश दिइनु, प्रधानमन्त्री पदको गरिमा खसाल्ने काम हो ।यस सन्दर्भमा हामीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीजीको शालिनतालाई स्मरण गर्न जरुरी छ । हामी अनुदार र आक्रोशित नभैकन पनि आफ्ना बिमति प्रकट गर्न सक्छौं । त्यसो गरे, सायद हामी झन् प्रभावकारी र जनताको मन जित्ने नेता र मानिसका रुपमा चीरकालका लागि स्थापित हुन सक्छौं ।

साथै आमजनता र अरुहरुले पनि कुनै पनि प्रधानमन्त्री बारे टिप्पणी गर्दा त्यो संस्थाको मर्यादा कायम राखेर समर्थन वा विरोध गर्दा उचित हुन्छ । मर्यदाहरुको एकपक्षीय र बराबर पालन हुन सजिलो हुन्न । तथापी जो जति उच्च पदमा छ, त्यसको जिम्मेवारी त्यही अनुपातमा बढी हुन्छ–समाजमा संस्कार बसाल्नको लागि ।
प्रसंगवश, म त्यो सौभाग्यशाली (वा दुर्भाग्यशाली) पत्रकार हुँ, जसलाई मनमोहन अधिकारीजीले आफ्नो जीवनको अन्तिम अन्तरवार्ता दिनु भयो ।

एक प्रसंगमा मैले उहाँलाई सोधेः

‘मनमोहनजी तपाईलाई मानिसले कसरी याद गरुन जस्तो लाग्छ ?’

‘मनमोहन एक असल मानिस थियो भनेर सम्झीदिए पुग्छ मलाई, विजय!’

‘त्यतिमात्र मनमोहजी ? नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री वा वामपन्थी आन्दोलनको मुर्धन्य नेता भनेर संम्झन पर्दैन ?’

‘प्रधानमन्त्री हुनुभन्दा, असल मानिस हुनु गाह्रो छ जस्तो लाग्छ मलाइ, विजय !’
यति भनेर निर्वोध, निश्छल बालख जस्तै मुस्कुराएका थिए, मनमोहनजी ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *