मुस्ताङ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले मुस्ताङको भ्रमण गर्दै नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणप्रति अमेरिकाको निरन्तर प्रतिबद्धता दोहोर्याएका छन् । एक्यापमार्फत सञ्चालित परियोजनाहरू अवलोकन गर्ने क्रममा उनले नेपाल–अमेरिका ७८ वर्ष लामो साझेदारीको महत्वसमेत उजागर गरेका हुन् ।
भ्रमणमा राजदूत थम्पसनसँगै जनसम्पर्क प्रमुख माइक हार्कर र अमेरिकी दूतावासका अन्य प्रतिनिधिहरू पनि सहभागी थिए। टोलीले एक्यापअन्तर्गत संरक्षण गरिएको जोंग गुम्बा, गोनपा गाङ गुम्बा र लो गेकर गुम्बाको स्थलगत अवलोकन गरेका थिए ।
राजदूतले स्थानीय समुदाय तथा परियोजना टोलीसँग अन्तरक्रिया गर्दै परियोजनाले दिगो पर्यटन, आर्थिक विकास, र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे।
उनले यस्ता कार्यक्रमले नेपाल–अमेरिका कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै पर्यटन, आतिथ्य र शिक्षाका क्षेत्रमा स्थानीय तथा अमेरिकी व्यवसायका लागि नयाँ अवसरहरू सिर्जना गरिरहेको बताए । भ्रमणको क्रममा टोलीले मुस्ताङको ऐतिहासिक तिजी पर्व पनि अवलोकन गरेको थियो, जुन नेपालको जीवित परम्पराको जीवन्त प्रतीक मानिन्छ।