-नारायण गाउँले ।
कुनै देश यति निर्दयी पनि बन्न सक्छ र ? नेपाली बोल्ने, नेपाल र नेपाली संस्कृतिलाई भित्रैदेखि माया गर्ने भुटानी नागरिकहरू नेपाली मूलको भएकै कारण देशनिकाला भए । ती दुधे बालक काखमा च्यापेर, एकसरो लत्ताकपडा बाहेक जीवनमा कमाएको सर्वश्व छोडेर जसोतसो ज्यान जोगाउँदै शरण माग्न आफ्नै पुख्र्यौली भूमि नेपाल आइपुगे । नेपालले न कूटनैतिक पहल गरेर तिनलाई थातथलो फर्काउन सक्यो, न तिनलाई शरण दिन सक्यो । झन्डै एक पुस्ता तिनले शरणार्थी शिबिर भनिने पानी चुहिने झुप्राहरूमा बिताए । विश्वका थुप्रै सङ्घसंस्थाहरूले तिनलाई रासनपानी र सहयोग नगरेको भए ती भोकभोकै र औषधिउपचार नपाएर मर्ने थिए ।
तिनले मनमा बोकेको नेपालले तिनलाई अपनाएन, न जन्मभूमि भूटानले । भूटानले त ती नेपाली नै भएको र नक्कली भूटानी भएको आरोप लगाइरह्यो । ती दुधे बालक अनागरिक भएरै हुर्किए । नागरिकता नहुँदा यो विश्वमा, नेपालमा जीवन कति कष्टकर हुन्छ, कति भयावह हुन्छ, सबैलाई थाहै छ ।
रगतको नाता भएको, एउटै भाषा र संस्कृति भएको र आत्मा एउटै भएको नेपालले दुःख र सङ्कटको घड़ीमा आफ्नो छाती खुला गर्न सकेन । मान्छेलाई आजीवन शरणार्थी बनाउनु, नागरिक हकअधिकारबाट वञ्चित गर्नु पाप हो भन्दै कहीँ कतै कुनै सम्बन्ध नभएका युरोप र अमेरिकाले तिनलाई करोडौं खर्चेर आफ्नो देशमा नागरिकता दिन तयार भए । तर नेपालले नेपालीलाई नै अपनाएन । कुनै बेला राजा महेन्द्रले बर्माबाट फर्केका नेपालीलाई कुनै प्रश्न नसोधी देशभर ससम्मान पुनर्वास गराएका थिए । आज पनि ठाउँठाउँमा बर्मेली टोल छन् । हामीले कुन बाटो आए भन्दै तेस्रो देशतिर औंला उठाएर टारिदियौं । जबकि माओवादी द्वन्द्वमा दशवटा देश नाघेर नेपाली युरोप पुगेका थिए । सिरियन र युक्रेनी नागरिक अमेरिका पुगेका थिए । हामीले त भारतले भाग्न पनि नदिएर तिनलाई त्यहीँ सड्न दिनुपर्ने खालको तर्क गर्यौं ।
युरोप–अमेरिकाको यो विशुद्ध मानवीय सहायता थियो । हजारौं बालबालिका नागरिकताविहीन भएर सहर र गल्लीमा नारकीय जीवन बिताउनु नपरोस् भन्ने सदाशयता थियो । तिनको प्रोसेसिंगदेखि यात्रा र व्यवस्थापनसम्मको ठूलो खर्च र देशभित्रै बढ्दो आप्रवासीविरुद्धको स्वरका अगाडि मानवताले जित्यो । हामी मान्छे चाहिएर लगे भन्ने ओठे तर्क गर्छौं । न आफूमा दया छ, न दया देखाउनेप्रति सम्मान छ । तर हाम्रो घटिया लालचका लागि त्यो स्वर्णिम अवसर बन्यो । दशैँ आए जस्तो पो भयो ।
तिनलाई कसैले मानवीय करुणा राखेर पुनर्वास गराउँदा समेत हामीले गिद्धे नजर राख्यौं । हाम्रा मन्त्रालय र विभागहरू पैसा खाएर नक्कली शरणार्थी प्रमाणित गर्नतिर लागे ।
यस्तो मानवीय सहयोगमा समेत सिङ्गो देश नै भाग खोस्ने र कमिशन खाने षड्यन्त्र र कीर्तेमा लागेको घटिया उदाहरण विश्वमा बिरलै भेटिएला । सिङ्गो राज्य संयन्त्रले, देशका ठूला भनिएका दलहरूले त्यस्तो मानवीय सङ्कटलाई कमाउने भाँडो बनाए । कति निर्दयी र भक्षक रहेछौं हामी ! तिनलाई त तिरस्कार र अपमानित जीवन जिउन बाध्य बनायौं बनायौं, कसैले तिनलाई दया गरेर दिएको सुविधा पनि नक्कली कागजात बनाएर हामीले नै उडायौं ।
ती एकलाख भूटानी शरणार्थीको आत्माले के सोच्यो होला ? तिनलाई नेपाल र भूटानले स्वीकार नगरेपछि सिङ्गो पुस्ता बर्बाद नहोस् भनेर दया राखेका देशले के सोचे होलान् ? आज हरेक भूटानी मूलका व्यक्तिहरूलाई नक्कली हुन् कि भनेर ती देशले, नागरिकले शङ्का गर्दै छन् । नेपालीमाथि कतै भूटानी भाग खोसेर आएका पो हुन् कि भनेर हेर्दै छन् । नेपाल भन्ने सगरमाथा र बुद्धको देश थियो, आज मानवतस्कर र संवेदना बेच्ने निकृष्ट व्यापारीको देश भएको छ । कति ठूलो पाप होला यो । आज विदेशका एयरपोर्टमा नेपाली पासपोर्ट बोकेर पुग्दा पहिलेभन्दा धेरै चेकजाँच हुन्छ । अनेक थरी प्रश्न मिसिएको आँखाले हेरिन्छ । यो घाउ निको हुन भ्याएकै छैन ।
आज सिङ्गो अध्यागमन विभाग नै मानव तस्करीमा संलग्न रहेको खबर आयो । कुन देशले हामीलाई विश्वास गर्ला ? किन गर्ला ? हाम्रा मन्त्री मान्छे तस्कर गर्दै जापान पुग्छन् । सभामुखहरू एम्बेसीलाई चिठी लेख्छन्, सांसदहरू पासपोर्ट बेच्छन् र मन्त्रीहरू नेपाली नागरिकलाई भुटानी बनाई दिन्छन् ।
कामले हाम्रो एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सबै कुरा उच्चस्तरीय सेटिङले चल्छ भन्ने देखिनु देशको सुरक्षा, इज्जत र अन्तर्राष्ट्रिय विश्वास सबै सबैका लागि खतरनाक नजीर हो । भोलि अन्तर्राष्ट्रिय उडानले हाम्रो सुरक्षा जाँचलाई कसरी विश्वास गर्ने ? देशकै बलात्कार गर्ने यस्तो घटनाका अपराधीहरूलाई कुनै पनि सजाय कम हुन्छ ।
देशमा रोहिङ्ग्या शरणार्थी छन् । तिब्बती शरणार्थी छन् । बर्मादेखि नेपालीभाषी भारतीय राज्यमा राजनैतिक दमन भयो भने तिनले नेपालमैं शरण लेलान् । देशले कुन मुखले भारतसँग वार्ता गर्ला ? उसले ती नक्कली हुन् भनिदियो र भूटानी शरणार्थीको नजीर दियो भने के होला ? भोलिका दिनमा बर्मासँग कसरी नेपालले ती बर्मेली नै हुन् भनेर अडान लिन सक्ला ? हाम्रा कागजपत्र, प्रमाण र सरकारी दस्ताबेज नै नक्कली हुने भएपछि भोलि देशको सीमाबारे लड्न पनि मुश्किल हुन्छ । देशका हक र अधिकारबारे अनेक फोरममा जुध्न पनि मुश्किल हुन्छ । सोच्नुस् त, देश नै कीर्ते भएपछि के हुन्छ ?
विश्वास कुनै पनि देशको सबैभन्दा ठूलो पूँजी हो । विश्वसनीयता ठूलो शक्ति हो । आज देशले त्यो गुमाउँदै गएको छ । पैसा कमाउन हाम्रो जात जुन हदसम्म जान पनि तयार छ भन्ने देखाएको छ । मानवतासँग, मानवीय भावनासँग हाम्रो कुनै सम्बन्ध र सम्मान छैन भन्ने देखाएको छ । अन्य आर्थिक भ्रष्टाचारसँग यो राक्षसी प्रवृत्तिलाई तुलना गर्न सकिन्न ।
मलपोत होस् या श्रम, लाइसेन्स होस् या सामान्य सिफारिस, सक्कली कागज बनाउन देशका नागरिकलाई संसारभरिकै दुःख छ । देश नक्कली कागज बनाउन व्यस्त छ । देशमा अवसर नपाएर विदेश जानेलाई पनि चुस्छ, लखेटिएर आउने नेपाली मूलका शरणार्थीलाई पनि चुस्छ । पैसा चुसे त हुन्थ्यो, क्षतिपूर्ति नै नहुने गरी देशको इज्जत, प्रतिष्ठा र विश्वसनीयता नै चुस्छ । जति सोच्यो, त्यति रगत उम्लेर आउँछ ! के गर्न सकिएला ?