पर्वत । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजका ३७ वर्षीय विनायक जय मल्लले विश्वको सर्वोच्च शिखर सगरमाथाको पाँचौँ पटक सफल आरोहण गरको छन् । उनले सन् २०१७ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।
इलाइट एक्सपेडमा कार्यरत अन्तर्राष्ट्रियस्तरको गाइडको अनुमतिपत्र प्राप्त गरेका मल्लले म्याग्दीको धवलागिरि गाउँपालिकाको मुदीमा अवस्थित धौलागिरि हिमालमा सन् २०१७ मा आरोहण गरेका थिए । मनास्लुमा पाँच र ल्होत्से हिमाल एकपटक आरोहण गरेको उनले बताए ।
‘आरोहणबाहेक उद्धारमा पनि धेरै ठाउँमा पुगेको छु, मृत्युको मुखमा पुगेका आरोहीलाई नयाँ जीवन दिन पाउँदा पेसाप्रति गर्व लाग्छ’, मल्लले भने ।
आठ हजार मिटर अग्ला हिमालबाहेक युरोप, इन्डोनेसिया, पाकिस्तानका हिमालमा दर्जनभन्दा बढी पटक आरोहण गरिसकेको उनले जानकारी दिए ।
हिमाल आरोहणजस्तो चुनौतीपूर्ण यात्रामा निरन्तर समर्पण, साहस र मेहनत आवश्यक पर्ने मल्लले बताए । हिमाल आरोहण टोलीसँगै केही दिनमा पाकिस्तान जान लागेको उनले बताए ।
म्याग्दी र पर्वत क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सक्रिय रहेका मल्लले कीर्तिमानी आरोही निर्मल पुर्जाबाट प्रभावित भएको बताए ।
उनले हिमाल आरोहणसँगै पर्यटन प्रवद्र्धनका क्षेत्रमा आगामी दिनमा थप सक्रिय उल्लेख गरे । उनले नेपाल र विश्वका विभिन्न देशमा रहेका आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने लक्ष्य रहेको जानकारी दिए ।