‘सबैभन्दा बुद्धि नभएका डाक्टर बाबुराम’ कि प्रचण्ड ?

काठमाडौं । २०७९ मङ्सिर ४ गतेको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारीमा थिए । चितवनको तीनवटा क्षेत्रमध्ये १ र २ मा नेपाली कांग्रेस र क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको थियो । तर अन्तिम समयमा उनले गोरखाको क्षेत्र नम्बर २ रोजे । त्यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा प्रचण्ड चितवनको क्षेत्र नम्बर ३ बाट ४८ हजार २७६ मत प्राप्त गरेर विजयी भएका थिए । प्रचण्ड चुनाव लड्न गोरखा आउने भएपछि डा. बाबुराम भट्टराई चुनाव नलडी प्रचण्डलाई सघाउन तयार भए । बाबुराम उम्मेदवार नै बनेन । निर्वाचनमा प्रचण्ड विजयी पनि भए । गोरखामा विजयी भएर नै प्रचण्ड प्रधानमन्त्री बने ।

प्रचण्डलाई जुन उद्देश्यले बाबुरामले छाडेका थिए । त्यो पूरा नभएपछि बाबुराम दुःखी भएका छन् । उनले प्रचण्डलाई छाडेर आफूले गम्भीर गल्ती गरेको भन्दै सार्वजनिक आत्मालोचनासमेत गरेका छन् । असल मनसायले प्रचण्डलाई सहयोग गरेपनि गलत परिणाम आएको उल्लेख गर्दै उनले अब उक्त गल्ती सच्याउनुको विकल्प नरहेको बताउँदै आएका छन् । गोरखा गएका बेला एक पटक बाबुरामले भनेका थिए, ‘कहिलेकाहीँ असल मनसायले गरेको कामको गलत परिणाम आउँछ । जनसेवामा समर्पित इमान्दार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिच्किचाउनु हुँदैन । मासिक जिल्ला भ्रमणको क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भयो ।’

आफू निर्वाचनमा नउठेर सघाउने बाबुरामलाई अहिले आएर प्रचण्ड सबैभन्दा बुद्धि नभएका डाक्टर भनेर आलोचना गर्न थालेका छन् । गत बुधबार रूकुम पूर्वमा आयोजित कार्यक्रममा प्रचण्डले बाबुरामलाई सबैले ‘बुद्धि नभएको डाक्टर’ भनेर चिन्ने भन्दै एकता सम्भव नभएको बताए । प्रचण्डले भने, ‘सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने ? गोरखाबाट लड्दा नारायणकाजी कमरेड, म, बाबुराम लगायतले अब यो चुनाव मात्रै होइन पार्टी पनि एउटै बनाउने भनिएको थियो। तर उहाँले पछि कम्युनिस्टको नाम सुन्न चाहनुभएन । कम्युनिस्ट पार्टीको नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के गर्ने ? बाबुरामका लागि मर्ने ?’

लामो समय एउटै पार्टीमा रहेर काम गरेको र पछिल्लो निर्वाचनमा उहाँकै सहयोगको कारणले नै सांसद बनेर प्रधानमन्त्रीसम्म हुन पाएको गुन विर्सेर यति तल्लो स्तरमा गाली गरेको भन्दै पूर्वप्रशासक शारदाप्रसाद त्रिताल कम्युनिष्टको चरित्र नै भएको टिप्पणी गर्छन् ।

त्रितालको टिप्पणी छ, ‘कम्युनिष्ट हुँ भन्नेहरु र गाली महात्म्य ! हालै क्रान्तिकारी कम्युनिष्ट हुँ भन्ने एक पूर्व प्रधानमन्त्रीले अर्को एक पूर्व प्रधानमन्त्रीको नामै लिएर ‘सबैभन्दा बुद्धि नभएको डाक्टर’ भनेर गाली गर्नु भएको भन्ने समाचारहरु आएका छन् । लामो समय एउटै पार्टीमा रहेर काम गरेको र पछिल्लो निर्वाचनमा उहाँकै सहयोगको कारणले नै सांसद बनेर प्रधानमन्त्रीसम्म हुन पाएको गुन विर्सेर यति तल्लो स्तरमा गाली नगरेको भए हुन्थ्यो जस्तो लाग्छ । नेतृत्व वर्गले सभ्य भाषा र व्यवहार देखाउन सके मात्र समाजमा सकारात्मक विचार र व्यवहारको विकास हुन सक्छ भनिन्छ । विचार र सिद्धान्तहरुको विरोध हुनु दलीय व्यवस्थामा स्वाभाविक भए पनि व्यक्तिगत लाञ्छना र गालि सभ्य समाज निर्माणमा वाधक मानिन्छ । तर नेपालमा कम्युनिष्ट हुँ भन्नेहरुमा स्वार्थ मिल्यो भने तलुवा चाट्न पनि तयार हुने र स्वार्थ मिलेन भने तथानाम गालिगलौजमा उत्रने प्रवृत्ति विचित्रको छ । अझ सत्ताको रजगजमा रमेर पनि गाली बर्साउन माहिर गाली शिरोमणिको त कुरो गरिसाध्यै छैन । कतै कार्ल माक्र्सले कम्युनिष्ट हुँ भन्नेहरुले मात्र पढ्ने र बुझ्ने गरी गाली महात्म्यको छुट्टै शास्त्र लेखेर छोडेका त थिएनन् !’

प्रचण्ड नेतृत्वको माओवादी विभाजन भई मोहन वैद्य, बाबुराम, विप्लव, आहुती, गोपाल किराती, बादलहरु माओवादीबाट अलग भइसकेका छन् । त्यसैले माओवादीमा प्रचण्डकै कारण विचलन आएको भन्नेहरु धेरै छन् । यसअर्थमा सबैभन्दा बुद्धि नभएका डाक्टर हुन् कि प्रचण्ड त ? तपाईंलाई के लाग्छ नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *