भिजिट भिसाको नेक्सस तोड्न हिम्मत गर्नुस् अख्तियार प्रमुखज्यू !

-गोविन्द पन्थी ।

जब मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली विमानस्थलबाट हट्यो त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले आफ्ना गतिविधि अगाडि बढायो र शंकास्पद कागजात मिति २०८० आश्विन १९ गते १६४१ राहदानी सहित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइयो । त्यस बखत म ८ नम्बर पिलरमा डीएसपीको रुपमा नेतृत्व गर्दै थिएँ । उक्त पिलरले वैदेशिक रोजगार ठगी मुद्दाको अनुसन्धान तथा कारबाही गर्दथ्यो । तसर्थ विमानस्थलबाट आएका कागजात ३ नम्बर पिलरमा आए ।

उक्त पिलरले ठगी हेर्ने हुँदा स्वभाविक भयो । एक महिनाको अनुसन्धानमा राहदानी आउने अनि जसको हो उसैलाई फिर्ता दिने कार्य भयो । त्यसबाट अपेक्षित परिणाम नआएपछि तत्कालिन एसपी रविन्द्र रेग्मी सरले एसएसपी सोमेन्द्र सिंह राठौर सरसँग सल्लाह गरेर उक्त भिजिट भिसा प्रकरण ८ नम्बर पिलरबाट मलाई हेर्न निर्देशन भए पश्चात् मेरो जिम्मेवारी तोकियो ।

तत्पश्चात मेरो नेतृत्वको टोलीले गहिरिएर अनुसन्धान गर्दा सबै नक्कली कागजात तयार गर्ने, काम ल्याउने दलाल, कन्सल्टेन्सी, ट्राभल व्यवसायी, म्यानपावर, होटल र एयरलाइन्स, अध्यागमन, श्रम विभाग र प्रहरीका केही अधिकारीको मिलोमतोमा ठूलो तस्करी संचालित भएको देखिएपछि मैले अनुसन्धान प्रतिवेदन पेश गरेकोमा तत्कालिन कार्यालय प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले कसैलाई नछाडी जरैमा पुग्न जुन साहसिक निर्देशन दिनुभएको थियो । तत्पश्चात २० जना दलाल, २० वटा ट्राभल, ८ कन्सल्टेन्सी, नेता र कर्मचारी गरि ३७ जना नियन्त्रणमा लिएर मानव तस्करी, किर्ते र संगठित अपराध मुद्दा चलाइएको थियो ।

उक्त मुद्दालाई संगठितमा लैजान हामीले सरकारी वकिलसँग नोकझोक नै गर्नु परेको थियो । र मैले अनुसन्धान गर्दा मलाई अख्तियारमा १६ पाने भराउनने धम्की पनि नदिइएको हैन । कुनै कुरालाई प्रवाह नगरी पत्रकार सम्मेलनबाट आफ्नो तालुक कार्यालय गृह मन्त्रालयका अधिकारीको सङ्लग्नता मानव तस्करी भएको र दैनिक डेढ करोड देखि २ करोड कर्मचारीले लिने गरेको निर्भिकताका साथ तथ्यमा आधारित भएर बोलेको थिएँ । जुन कुरा व्यवसायिक र निडर हिम्मतिलो कार्यालय प्रमुख सोमेन्द्र सरको कारणबाट सम्भव भएको थियो ।

पछि अनुसन्धान भएर कतिपय पुर्पक्षका लागि थुनामा समेत गए र कतिपय धरौटीमा छुटे । उक्त फाइल अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको थियो दुई वर्ष न भयो बल्ल । आशा गरौं अनुसन्धान हुँदै होला । धेरै दलाल र ठुला तस्करीमा सङ्लग्न दुबई र भारत गएर बस्नु पर्यो । त्यस्तो स्थिति सिर्जना गरिदिएपछि मेरो सरुवा गराउन ठूलो थैलीको जोहो गरेर बुझाएको हल्ला चल्यो । नभन्दै मेरो सरुवा भयो । सरुवा कसरी भयो र किन कार्यालय प्रमुखले भन्दा पनि रोकिएन भनी गोप्य तरिकाले बुझ्दा २, ३ दिन अगाडि हटेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिपाएको र तत्कालीन आइजीपी वसन्त कँवरको जोडबलमै भएको बुझिएपछि एसएसपी सोमेन्द्र सरले रोक्न हालका आइजीपी तत्कालीन मेट्रो प्रमुख दीपक थापा सरलाई भन्दा समेत माथिको आदेश भनियो ।

जसका कारण सरुवा रोकिएन । पछि तत्काल गृहमन्त्री फेवबदल पश्चात् मैले गृहमन्त्री रबि लामेछानेलाई एउटा पत्र लेखें जसको कारण मेरो सरुवा कानुन त रोकिएन किनकी बदर गर्दा रकम फिर्ता गर्नु पथ्र्यो । तसर्थ मौखिक रुपमा रवाना नगरी त्यही काम गर्न भनियो । मैले लेखेको पत्र पछि सार्वजनिक गर्नेछु ।

तसर्थ साच्चिकै अनुसन्धान गरेर तस्करी नियन्त्रण गर्ने र सुशासन ल्याउने हो भने यो विषयमा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नु पर्दछ । त्यसो गरियो भने एकाद बाहेक कुनै गृहमन्त्री, श्रममन्त्री र प्रधानमन्त्रीको सचिवालय टिम समेत कानुनी कठघरामा उभिने छ । अहिले सहसचिव तिर्थ भट्टराईलगायत अख्तियारको अनुसन्धानको दायरामा रहेकोले हिम्मत गर्नु पर्दछ । अख्तियार प्रमुखज्यूले इतिहासमा नाम लेखाएर जनताको मनमा बस्ने अवसर आएको छ । यो विषय सुक्ष्म र निष्पक्ष अनुसन्धान हुने हो भने ठूलो उथलपुथल हुने निश्चित छ । अवसरलाई सदुपयोग होस् । शुभकामना ।

(पन्थी पूर्वडीएसपी हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *