नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि दिउँसो सडक बन्द गरिने

काठमाडौं । नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि दिउँसो सडक बन्द गरिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० देखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए ।

यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए ।

नागढुंगादेखि नौबिसे सडकखण्डको मोड सुधार गरेर फराकिलो बनाउने र कालोपत्र गर्ने काम भइरहेको छ । सडक निर्माण आयोजनाले यसअघि रातिको समयमा भत्काउने काम भएको र प्राविधिक रुपमा गर्नुपर्ने निर्माणको काम दिउँसो नै गर्नुपर्ने भनेपछि सडक बन्द गर्न लागिएको हो । विकल्पको रुपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *