हनुमानढोकास्थित नौतले दरबार उद्घाटन, सर्वसाधारणका लागि खुला

काठमाडौं । अन्तर्राष्ट्रिय संग्रहालय दिवस २०२५ को अवसरमा ऐतिहासिक नौतले दरबार सर्वसाधारणका लागि औपचारिक रूपमा खोलिएको छ ।

हनुमानढोकामा मंगलबार आयोजित एक विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नौतले दरबारको रिबन काटेर उद्घाटन गरे ।

उद्घाटन समारोहमा मन्त्री पाण्डेले सम्पदा संरक्षण र पुस्तान्तरणको महत्वलाई जोड दिए । उनले भने, ‘नौतले दरबारको उद्घाटनले आजको दिनलाई ऐतिहासिक बनाएको छ। भूकम्पले ढलाएका हाम्रा सम्पदाहरु उठाउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

मन्त्री पाण्डेले भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा देखिएको प्राविधिक क्षमता र परम्परागत सीपको प्रशंसा गर्दै भने, ‘लिच्छवीकालका जस्ता कलाकारहरू आज पनि हुनुहुन्छ भन्ने प्रमाण काष्ठमण्डप पुनःनिर्माणमा देखिएको छ। नौतले दरबार निर्माणमा देखिएको छ। हाम्रो सभ्यता र पुर्खाहरूको कला–कौशलका प्रतिनिधि यी सम्पदाहरू हुन् ।’

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक, चिनियाँ प्राविधिक टोलीका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, तथा सम्पदा क्षेत्रमा सक्रिय विज्ञहरू सहभागी थिए। उनीहरूले नौतले दरबारको पुनःनिर्माणमा प्रयोग गरिएको परम्परागत काष्ठकला, ढुंगा निर्माण शैली र हस्तकलाको पनि अवलोकन गरेका थिए ।

दरबार चीन सरकारको सहयोगमा पुनर्निर्माण भएको हो । विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षण नौ तले दरबार वरपर घुम्न सक्नेगरी सबै संरचना हटाइएको छ । दरबार खुले पनि त्यहाँ रहेको महेन्द्र र वीरेन्द्र सङ्ग्रहालय भने केही समयपछि मात्र खुला हुनेछ ।

अहिले नौ तले दरबारमा चढ्न पाउने व्यवस्था गरिएको छ । दरबारको तल्लो तलामा भूकम्पअघिको दरबारको अवस्था र भूकम्पपछिको अवस्थाको बारेमा तयार पारिएको डकुमेन्ट्री प्रदर्शन गरिनेछ ।

दोस्रो र तेस्रो तलामा सङ्ग्रहालय रहनेछ । दरबारको माथिल्लो तलामा भूकम्पबाट ध्वस्त भएका हनुमानढोका दरबार क्षेत्र परिसरका काम नलाग्ने टुँडाल, इट्टा लगायतका पुरातात्त्विक वस्तु प्रदर्शनीमा राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *