प्रधानमन्त्री र मेयर सधैं जुधिरहने ?

काठमाडौं । काठमाडौंको मेयरमा निर्वाचित भएपछि २०७९ असार २९ गते साँझ बालेन साह एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । आफूलाई भेट्न आएका मेयर साहलाई अध्यक्ष ओलीले तबला उपहार दिएका थिए । भेटमा ओली र बालेनबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल भएको बताइएको थियो । त्यतिबेलासम्म ओली र बालेनबीच सम्बन्ध सौहार्द नै थियो । समय क्रमसँगै दुई नेताबीचको सम्बन्ध तिक्ततामा परिणत भएको छ । बालेनले सामाजिक संजालमार्फत ओलीमाथि आक्रोश पोख्ने र ओलीले सार्वजनिकरुपमै बालेनको आलोचना गर्ने । यो क्रम निरन्तर चलिरहेको छ । बालेनले कहिले प्रधानमन्त्री ओली लक्षित ‘जति भ्रम फैलाए पनि, हामी तपाईँको भ्रष्ट कार्यकर्ता सामु झुक्दैनौँ ।’ त कहिले के लेखिरहन्छन् । यतिसम्म भयो कि बालेनका समर्थकले प्रधानमन्त्री ओलीविरुद्ध फेसबुकमा अनफलो अभियान समेत चलाए । जसका कारण २४ घण्टामा ४० हजारले अनफलो नै गरे ।

प्रमुख प्रशासकीय अधिकृतको विवाददेखि होस् वा सडक विभागको अधिकारका विषयमा समेत बालेन र केन्द्र सरकारबीच विवाद छ । बालेनले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि ओलीले ’कर्कलो फाँड्न बन्चरो लागेको’ भन्दै बालेनप्रति कटाक्ष गरेका थिए । लगत्तै बालेनले गिरीबन्धुको प्रकरण उठाएर ओलीप्रति कटाक्ष गरे । यो क्रम अहिले पनि चलिरहेको छ । बालेन प्रधानमन्त्री उपस्थित हुने कार्यक्रममा सहभागी नै हुन छाडेका छन् ।

सोमबार गणतन्त्र दिवस मनाउन मूल समारोह समितिको बैठक सिंहदरबारमा बोलाइएको थियो । तर बैठकमा मेयर साह उपस्थित भएनन् । कार्यक्रममा उपस्थित नभएको भन्दै प्रधानमन्त्री ओलीले अर्कोपटकदेखि काठमाडौं महानगरपालिकाका मेयर साहलाई बैठकमा नबोलाउन र मूल समारोह समितिमा नाम नराख्न गृह मन्त्रालयलाई निर्देशन दिएका थिए । यस्तो निर्देशन दिएको खबर सार्वजनिक भएपछि साँझ मेयर साहले प्रधानमन्त्रीविरुद्ध आक्रोश पोखे । त्यसपछि उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा, देशको सबै पार्टीको सबै लागेर भ्रष्टचारी जोगाउँछु भन्छ । त्यसको नाइकेको कार्यक्रममा म गैदिनुपर्ने ? सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिस्टम।’

दुई नेताबीचको आरोप प्रत्यारोपलाई लिएर कतिपयले प्रधानमन्त्रीले मेयरसँग इगो साँधेर हिँड्न नहुने बताएका छन् भने एमालेजनले भने बालेन नै गलत रहेका भन्दै उनको आलोचना गर्ने गरेका छन् ।

पूर्वमन्त्री जेपी गुप्ताले गिरिजाप्रसाद कोइराला र दरबारबीचको प्रसंगलाई ओली र बालेनबीचको विवादसँग जोडेर यसरी प्रस्तुत गरेका छन् ।

गिरिजाप्रसाद कोइराला धेरै पटक प्रधानमन्त्री हुनुभयो । राजाकै शासनमा धेरै पटक प्रधानमन्त्री हुनुभयो । दरबारमा गई कहिल्यै पनि, एक पटक पनि दशैंको टिका थाप्नु भएन । मातृकाप्रसाद कोइराला बाँचुन्जेल ठुल्दाजुको हातबाट साइतको टिका थाप्ने भनेर विराटनगर पुग्नुहुन्थ्यो । न भए बानेश्वर । त्यस निम्ति नारायणहिटी कहिल्यै टेक्नु भएन । गिरिजाप्रसाद सबै पटक प्रधानमन्त्रीका साथ राजदरबारसम्बन्धी विभागीय मन्त्री समेत रहनु भयो । दरबारीया समारोहको प्रोटोकलमा उहाँको नाम हुन्थ्यो । छापिएको पनि हुन्थ्यो । अन्तरयामी दरबारले सबै कुरा जानेको थियो । बुझेको थियो ।

न त राजा स्वयंले, न त पशुपतिभक्त महर्जनका माध्यमबाट प्रधानन्त्री तपाईं दरबारले नआइदिने ? दरबारको अवज्ञा गर्ने भनी कहिले भनेन । कुराको बुझाई मन मनै हुन्थ्यो । म प्रति कोइराला ‘आध्यात्मिक भक्तिभाव’ राख्दैनन् अथवा राजनीतिक प्रयोजनका लागि बाहेक सभक्ति राजतन्त्र मानेका छैनन् यति बुझ्ने तीक्ष्णता त दरबारको थियो नै । तर, दरबार त्यता लागेन ।

दरबार भित्तातिर नधकेलिँदासम्म संरक्षक र संहारक दुबै थियो । प्रधानमन्त्री हुनेहरूलाई दाम राखेर ढोक्न लाउँथे । तैपनि आफ्नो मर्यादा एवं गरीमाका लागि चुप बस्दथ्यो । सर ! डियर कमरेड प्रधानमन्त्री केपी शर्मा ओलीजी, कहाँ अल्झिनु भएको छ तपाईं ? दिनहरू थोरै छन् । अगाडी हिँड्नुपर्ने खाल्डाखुल्डीवाला बाटोतिर हेर्नुस् सम्माननीयजी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *