सदस्य राष्ट्रहरूलाई ‘महामारी सम्झौता’ पारित गर्न विश्व स्वास्थ्य सङ्गठनका प्रमुखको आग्रह

जेनेभा । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सोमबार विश्वका सरकारहरूलाई महामारीसम्बन्धी ऐतिहासिक अन्तर्राष्ट्रिय सम्झौता पारित गर्न आग्रह गरेका छन् ।

कोरोना महामारीले देखाएको असमानता र समन्वयको अभावलाई दोहोरिन नदिनका लागि यो सम्झौता महत्वपूर्ण कदमको रूपमा प्रस्तुत गरिएको छ ।

हाल जेनेभामा सञ्चालित विश्व स्वास्थ्य सभामा सहभागी देशका प्रतिनिधिहरूले सम्झौताको मस्यौदामाथि छलफल गरिरहेका छन्, जसमा धेरै राष्ट्रहरूको सरकार र स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति छ ।

महानिर्देशक टेड्रोसले उद्घाटन समारोहमा भने,“सङ्कटको बेला पनि तपाईंहरू थाक्नु भएन, हार मान्नु भएन र अन्ततः सम्झौतामा पुग्न सफल हुनुभयो ।” उनले यस क्षणलाई ऐतिहासिक भने ।

सम्झौताको उद्देश्य महामारी पहिचान, रोकथाम, निगरानी तथा उपचारमा विश्वव्यापी सहकार्य र समान पहुँच सुनिश्चित गर्नु हो । विगतमा कोरोना महामारीका बेला गरिब राष्ट्रहरूलाई खोप, परीक्षण सामग्री तथा औषधिमा उचित पहुँच नपाएको अनुभवले धेरै विकासशील देशहरूमा असन्तोष जन्माएको थियो ।

यस सम्झौतामा रोग फैलाउने जीवाणु तथा भाइरसको जानकारी साझा गर्ने र त्यसबाट विकास गरिने खोप, उपचार तथा परीक्षण सामग्रीको लाभ न्यायसङ्गत रूपमा बाँडफाँट गर्ने व्यवस्था गरिएको छ ।

सो प्रणाली सन् २०२६ सम्म पूर्णरूपमा तय गरिनेछ । सम्झौता कार्यान्वयनका लागि ६० राष्ट्रको अनुमोदन आवश्यक हुनेछ ।

केही राष्ट्रहरूले राष्ट्रिय सार्वभौमसत्तामाथि सम्झौताले असर पार्ने भन्दै आपत्ति जनाए तापनि अधिकांश सरकारहरू यसलाई मानव स्वास्थ्य सुरक्षाको निम्ति अत्यन्त आवश्यक कदमका रूपमा लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *