काठमाडौं । प्रहरीले काठमाडौँको नयाँपाटीमा एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको सुनापती गाउँपालिका ४ घर भइ काठमाडौंको गोकर्णेश्वर बस्ने २९ वर्षका प्रवीण तामाङ, सर्लाहीको बाग्मती गाउँपालिकाका २३ वर्षका समिर वाईवा तामाङ, २६ वर्षका अभिसेक वाईवा तामाङ, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाका दीपेन्द्र भुजेल र काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिकाका २८ वर्षीय अनुराग तामाङ रहेका छन् ।
गत वैशाख ३० गते बेलुका गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीस्थित किराना पसलमा बसिरहेका ३७ वर्षका बलिन्द्र प्रकाश राईको हत्या भएको थियो ।
घटनापछि फरार रहेका ५ जनालाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिएका छन् । उनीहरुलाई अदालतबाट म्याद थप गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।