काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले पछिल्लो समय झ्याप झ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो भन्दै प्रश्न गरेकी छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा सांसद राईले पछिल्लो समय लाइन काटिएको विषय उठाउँदै सरकारको आयुको सङ्केतसँग तुलना गरेकी हुन् । उनले भनिन्, ‘आजभोलि झ्यापझ्याप बत्ती जान्छ, किन सरकार ? के यो सरकारको आयुको संकेत हो ?’
बैठकमा माओवादी केन्द्रका सांसद सूर्यमान तामाङ दोङले पनि लोडसेडिङका कारण नेपाली जनता अँध्यारोमा बस्नुपरेको बताए ।
उनले कुलमान घिसिङलाई बर्खास्त गरेपछि देशभर लोडसेडिङ हुन थालेको भन्दै ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।
उनले प्रश्न गरे,‘के अब जनता लोडसेडिङमा बस्नुपर्ने हो ? सरकार, उर्जा मन्त्रालय र विद्युत प्राधिकरणको गम्भीर बनुन् ।’
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भने, ‘अहिले घरघरमा अध्याँरो भइरहेको हुन्छ, बत्ती झ्यापझ्याप गइरहेको छ, यसका कारणबारे जानकारी गराइ यथाशीघ्र समस्या समाधान गर्न आग्रह गर्दछु ।’