काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा शुक्रबार मन्त्रालय र संघबीच गरिएको सम्झौताअनुसार अब संघले आँखा उपचार उपलब्ध नभएका स्थानमा लक्षित गरेर सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्नेछ।
आँखा उपचार पहुँच वृद्धि गर्ने मन्त्रालयको नीतिअनुसार संघले प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर कार्यक्रम विस्तार गर्नेछ भने यसका लागि मन्त्रालयले सहजीकरण गर्ने सम्झौतामा उल्लेख छ। साथै आधारभूत स्वास्थ्य संस्थामा कार्यरत प्राथमिक आँखा उपचारमा सेवा प्रदान गरिरहेका जनशक्तिको क्षमता वृद्धिका लागि संघले सघाउने भएको छ।
मन्त्रालयले संघका विदेशी आँखा चिकित्सकलाई उपचारमा सहभागी गराउन सहजीकरण गर्नेछ भने छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिलाई सङ्घीय तथा प्रादेशिक अस्पतालबाट खटाउन सघाउनेछ।
सम्झौतापछि आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले नेपालको आँखा उपचार सेवा स्तरीय र सुपथ भएको भन्दै नागरिकको पहुँच वृद्धिसँगै स्वास्थ्य उपचार पर्यटन केन्द्रका रूपमा विकास गर्न यस सेवाले भूमिका खेल्ने विश्वास व्यक्त गरे। संघका अध्यक्ष डा चेतराज पन्तले सरकारको लक्ष्यअनुसार आँखा उपचार पहुँच बढाउन आवश्यक वातावरण बनाउन सहजीकरणका लागि मन्त्री पौडेलप्रति आभार व्यक्त गरे।