टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले बिहीबार बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनीविरुद्ध बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ कायम गरी मुद्दा दायर गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा उनीहरुले भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले बस्नेत र झासहित नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन सदस्यहरु धनराज ज्ञवाली, टीकाप्रसाद उप्रेती, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक बिजयकुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्र, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दिपेश आचार्य र उपनिर्देशक सन्दीप अधिकारी, परामर्शदाता भ्यानराइज सोलुसन साल र सोका मुख्य व्यक्ति सीइओ जमल अनउटी, भ्यानराइज सोलुसन सालका स्थानीय एजेन्ट भनिएका कनेक्सन ट्रेड लिंक प्रालि, काठमाडौं र सोका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद बस्नेतको पद स्वतः निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *