यस्तो शिर ठाडो पार्ने खालको समाचार रुस–युक्रेनमा पनि पढ्न पाइयोस् !

काठमाडौं । भारत प्रशासित जम्मु काश्मिरको पहलगाममा एक नेपाली युवासहित २७ जनाको ज्यान जाने गरी अप्रिल २२ मा भएको आतंकवादी आक्रमणलाई लिएर भारत र पाकिस्तान तीन दिन एकअर्काबीच आक्रमणमा उत्रिए । गत बुधबार राति भारतले पाकिस्तानमाथि क्षेप्यास्त्र आक्रमण गर्यो । भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएको २५ मिनेटको हमलापछि पाकिस्तान र भारतको सीमा क्षेत्रमा भोलिपल्ट दिनभरि गोली हानाहान भएको थियो । आक्रमणमा पहलगाम क्षेत्रमा पर्यटकमाथि हमला गर्ने आतंककारी समूह जैस ए मोहम्मदको पूर्वाधार ध्वस्त पारेको दाबी भारतको छ । भारतले आक्रमण गरेपछि पाकिस्तानले ‘अपरेशन बुनयान–उल–मारसूस’ नाम दिएर भारतविरुद्ध जवाफी कारबाही सुरु गर्यो ।

भारत र पाकिस्तानबीच युद्ध हुने देखेर विश्वका मुलुकले संयमता अपनाउन र वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरे । दुई देशबीच तनाव बढ्दै थियो । वैशाख २७ गते शनिबार अपरान्ह एकाएक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरे । अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका ट्रम्पले बताए । ट्रम्पले यो घोषणा गर्नुअघि भारत र पाकिस्तानले युद्धविरामकाबारेमा केही जानकारी दिएका थिएनन् । ट्रम्पले घोषणा गरेसँगै भारत र पाकिस्तान दुबैले एकअर्कालाई स्थल, हवाई र जल सेनाबाट आक्रमण नगर्ने सहमति भएको जानकारी गराए । ट्रम्पको भनाईअनुसार अमेरिकाको मध्यस्थतामा नै दुई देशबीच युद्धविराम सम्झौता भएको थियो ।

युद्ध रोक्न दुबै देशलाई युरोप, अमेरिका, खाडी मुलुकहरुले आग्रह गरेका थिए । नेपालले भने आतंकवादविरुद्धको लडाइँमा समर्थन रहेको र नेपाल तनाव कम होस् भन्ने चाहना रहेको बताएको थियो ।
तर सोमबार बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले युद्ध रोक्न आफूले मध्यस्थता गरेको जस्तो अभिव्यक्ति दिए । प्रधानमन्त्रीले भने, ‘हामीले सुरुदेखि नै तनावको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्यौँ, उहाँहरुसँग पनि कुरा गर्यौँ । उहाँहरुले लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिबाहेक नेपालले यस प्रकरणमा कसैसँग कुराकानी गरेको बाहिर आएको छैन । किनकी विगतमा टेलिफोनमा कुराकानी भएको कुरा प्रधानमन्त्रीले नै सार्वजनिक गर्ने गरेका थिए । तर किन प्रधानमन्त्रीले आफूले मध्यस्थता गरेको जस्तो अभिव्यक्ति दिए त ? सर्वत्र चासो र कटाक्षको विषय बनेको छ ।

सोमबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको आग्रहमा ‘अपरेशन सिन्दूर’ स्थगित गरी युद्धविराम गरेको दाबी गरेका छन्।

उता अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाकै कारण भारत र पाकिस्तानबीच युद्धविराम भएको दाबी गरेका छन् । सोमबार पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकाले व्यापार रोक्छु भनेकै कारण दुई देश संघर्ष अन्त्यका लागि तयार भएको पनि बताए । उनले भने, ‘हामीले भन्यौँ– हामीले धेरै सहयोग गर्यौँ । हामीले तपाईंहरूसँग धेरे कारोबार गर्छौँ । यदि तपाईंहरू संघर्ष रोक्नुभयो भने निरन्तरता दिन्छौँ, नत्र हामी तपाईंहरूसँग व्यापार गर्दैनौँ ।’

ट्रम्पले अमेरिकाका कारण युद्ध रोकिएको बताइरहेका बेला प्रधानमन्त्री ओलीले अभिव्यक्तिप्रति कटाक्ष भइरहेको छ ।

पूर्वपत्रकार रमा सिंहले प्रधानमन्त्रीको अभिव्यक्ति यसवर्षको नोवेल शान्ति पुरस्कारको दाबेदार रहेको भन्दै कटाक्ष गरेकी छन् ।

नेपाली सेनाका पूर्वरथी राजेन्द्र थापाले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति व्यंग्य गर्दै सामाजिक संजालमा लेखेका छन्, ‘हे ईश्वर राम नाम सत्य भए जसरी केपी ओलीको भनाइ पनि सत्य हो । मोदी र शहबाजलाई सिधै भनेको आफैले वान टु वान कि दुर्गा प्रसाईंमार्फत । किनभने दुर्गाको पनि मोदी, ट्रम्प पुटिन र सिजिनपिङसँग पनि झापाली दोस्ती छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल प्रधानमन्त्रीको अभिव्यक्तिले धेरै वर्षपछि यस्तो शिर ठाडो पार्ने खालको समाचार पढ्न पाइयो भन्दै व्यंग्य गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच हात हालाहाल हुन लागेको तर आफूहरुले त्यसो नगर्न सुझाव दिएको र उनीहरुले लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गरेको बताएका छन् । धेरै वर्षपछि यस्तो शिर ठाडो पार्ने खालको समाचार पढन पाइयो । रुस र युक्रेन पनि होस् ।’

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कवि अर्जुन पराजुली व्यंग्य गर्दै लेख्छन्:

युद्ध गर्ने
भारत र पाकिस्तान !
युद्ध रोक्ने
नेपालका प्रधानमन्त्री !
जस पाउने
अमेरिकाका राष्ट्रपति !

पत्याइदिने हामी !
सुनेपछि
हाँस्दाहाँस्दै थुक सर्किएर कोही मर्यो भने
त्यसको जिम्मेवारी कसले लिने ?

एलन मस्कलाई

बिजिनेश पढाएको मैले हो भन्न बेर छैन !

मध्यस्थता गर्न

ट्रम्पलाई अराएको मैले हो भन्न बेर छैन !

म थिइन यदि भने

उहिल्यै भुईंमा खसिसक्थ्यो पृथ्वी,

पृथ्वीलाई टक्क
हावामा अडाएको मैलो हो भन्न बेर छैन ! !

Leave a Reply

Your email address will not be published. Required fields are marked *