-नारायण गाउँले ।
भारत र पाकिस्तानबीच युद्धविरामलगत्तै रसिया र युक्रेनबीच पनि शान्ति वार्ताका सङ्केत देखिएका छन् । केही दिनमैं दुबै देशबीच प्रत्यक्ष वार्ता हुनसक्ने समाचार आएका छन् । झट्ट हेर्दा कुनै देशले गर्ने मध्यस्थताको भूमिका सानो लाग्न सक्छ तर त्यसभित्रको मेहनत ठूलो हुन्छ । खासगरी, आक्रमण गर्ने देशका मागहरू बारे अर्को देशलाई सम्झौतामा ल्याउन पक्कै सजिलो हुँदैन ।
भारत र पाकिस्तानको युद्धविरामभित्र पनि व्यापक छलफल, आन्तरिक समझदारी र निश्चित मागहरूको सम्बोधन भएको होला । यत्तिकै ल यो मिनेटसम्म लड्ने, अर्को मिनेटबाट यूद्धविराम गर्ने भन्ने हुँदैन । तर ती आन्तरिक समझदारी र मिहिनेत बाहिर नदेखिन सक्छन् । हामीलाई लौ, तिनमा अब लड्ने ताकत थिएन, त्यसैले मिले जस्तो लाग्न पनि सक्छ । नमर्दासम्म लड्ने मानवीय स्वभाव हुन्छ ।
युक्रेन र रसियाबीच युद्धविरामका लागि पनि धेरै प्रयास भएका छन् । ती सफल नहुँदासम्म बाहिर नदेखिए पनि द्वन्द्वसँगै द्वन्द्वव्यवस्थापनको प्रयास पनि सुरु भएकै हुन्छ । आशा गरौँ, यो दीर्घ र स्थायी शान्तिमा परिणत हुनेछ । कुनै न कुनै दिन दुई ठूला दादाहरू रसिया र अमेरिकाबीच समझदारी बन्ने र रसियाले युक्रेन, बेलारूस, कजाखस्तान, मोल्दोभा लगायतका उत्तरी युरोपका भूमिमाथि थप आँखा गाड्ने र अमेरिकाले ग्रिनल्याण्ड, क्यानडा लगायतका भूमिमाथि कब्जा गर्ने खतरनाक सम्भावना जीवितै देखिए पनि यसपटक सिङ्गो युक्रेन केही दिनमैं कब्जा हुनबाट जोगाएर युक्रेन भन्ने देशको अस्तित्व बचाई राख्न जेलेन्स्कीले देखाएको अद्भुत शौर्य, वीरता, साहस र निडरता भने साना र कमजोर देशका लागि उदाहरण हुनेछ ।
कमेडियनले देश डुबायो भनेर तर्क गर्नेहरूले जेलेन्स्कीले मुलुक बचाउन आफ्नै प्राणसँग खेलेर देखाएको वीरता र साहस त पक्कै बुझ्दैनन् । तर न यो युद्ध जेलेन्स्कीले शुरू गरेको हो, न रसियाले दिएका युद्धका कारणमा उनको कुनै भूमिका थियो । नेटोमा जाने उनको निर्णय होइन । त्यो संविधानमै इम्बेडेड थियो । उनी सत्तामा आउँदा क्राइमिया रसियाले लिइसकेको थियो र उत्तरी डोनबास क्षेत्र कब्जा थियो । युक्रेन कब्जा गर्ने रसियाको रणनीति उनी आउनुअघिकै थियो । युक्रेन देश नै होइन भन्ने रसियन थ्रेटबाट देश बचाउन सजिलो थिएन । रसियाको मुख्य मागमध्ये एक युक्रेन निःशस्त्र हुनुपर्ने र सेनाविहीन हुनुपर्ने भन्ने थियो । सेना नभएको दिन क्राइमिया र डोनबास कब्जा गरिसकेको रसियाले माया गरेर स्वतन्त्र छोड्छ भन्ने विश्वास पक्कै आमजनता या नेतालाई हुने कुरो भएन ।
उनको ठाउँमा अर्को कोही राष्ट्रपति भएको भए पहिलो दिन नै ज्यान बचाउन भागेर अमेरिका पुग्ने थियो र युक्रेन केही दिनमा कब्जा हुने थियो । जेलेन्स्की सतीसालझैँ उभिएपछि युक्रेन पनि हातखुट्टा गुमाएरै भए पनि यतिन्जेल उभियो । अब बाँचे पनि एउटा देशले के गर्न पाउने या नपाउने भन्ने निर्णय रसिया र अमेरिकालाई सुम्पेर युक्रेन बाँच्नपर्ने देखिन्छ । कमजोरलाई सधैँ गाह्रो छ । छिटै लाखौं निर्दोष मान्छेको ज्यान लिएको यो रक्तपातपूर्ण युद्ध सकिएको सुन्न पाए हुन्थ्यो ।