बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपतिले टर्कीको सहर इस्तानबुलमा वार्ताका लागि गरेको प्रस्तावप्रति टिप्पणी गरेका छन् ।
उनले आफू त्यहाँ रुसी राष्ट्रपतिसँग भेट्न तयार भएको बताएका छन् । रुसी राष्ट्रपति पुटिनले टर्किश सहरमा यही बिहीवार रुस–युक्रेन वार्ता गर्न आह्वान गरेका थिए – तर उनले उक्त वार्तामा आफैँ सहभागी हुने भनेका थिएनन् ।
जेलेन्स्कीको पछिल्लो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई दुई देशबीच टर्कीमा प्रत्यक्ष वार्ताबारे पुटिनको आह्वान स्वीकार्न भनेपछि आएको हो । जेलेन्स्कीले भनेका छन्, ‘ज्यान जाने क्रम लम्ब्याइरहनुको कुनै अर्थ छैन। म बिहीवार (टर्कीमा) पुटिनलाई प्रतीक्षा गर्नेछु ।’
यसअघि पश्चिमा देशहरूले सोमवारदेखि नै लागु हुने गरी ३०–दिने युद्धविराम गर्न आह्वान गरेका थिए। शनिबार किएभमा भेला भएका ‘इच्छुकहरूको गठबन्धन’को अगुवाइ गरिरहेका युरोपेली नेताहरूले उक्त आह्वान गरेका थिए ।
लगत्तै पुटिनले दुई देशबीच प्रत्यक्ष वार्ताको आह्वान गरे । त्यसपछि आइतबार ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै युक्रेनले पुटिनको आह्वानलाई तत्काल स्वीकार्नु पर्ने सुझाव दिए । जेलेन्स्कीले वार्ता अगावै रुसले युद्धविरामबारे सहमति जनाउने आशा व्यक्त गरेका छन् ।
शनिबार राति अबेर सम्बोधन गर्दै पुटिनले युक्रेनलाई युद्धबारे गम्भीर विमर्श गर्न निम्तो दिएका थिए । पुटिनले ३०–दिने युद्धविरामका लागि गरिएको आह्वानको सोझो सम्बोधन त गरेनन् तर उनले त्यस्तो वार्ताबाट रुस र युक्रेनबीच ’नयाँ युद्धविराम’मा सहमति हुने सम्भावना ’नकार्न नसकिने’ बताए ।