एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले रियल म्याड्रिडमाथि शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा रियल म्याड्रिडलाई ४-३ गोलले हराउँदै बार्सिलोनाले उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको हो ।
इस्टाडी ओलिम्पिक लुइस कोम्पानिसमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई गोल गर्दा लामिने यामाल र इरिक गार्सियाले एक/एक गोल गरे । म्याड्रिडको लागि किलियन एम्बाप्पेले ह्याट्रिक पूरा गरे । खेलमा लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा म्याड्रिड पराजित हुन पुगेको हो । खेलको पाँचौं मिनेटमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
१४ औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । १९ औँ मिनेटमा इरिक गार्सियाले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ३२ औँ मिनेटमा लामिने यामालले गोल गर्दै बार्सिलोनालाई २-२ गोलको बराबरीमा ल्याए । दुई मिनेटपछि राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३-१ गोलको अग्रता दिलाए । ४५ औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ४-२ गोलको अग्रता दिलाए ।
७० औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर म्याड्रिडलाई ४-३ गोलको स्थितिमा ल्याए । बाँकी समयमा दुवै टोली थप गोल हुन नसक्दा बार्सिलोना ४-३ गोलले विजयी भएको हो ।
जितसँगै बार्सिलोना ३५ खेलबाट ८२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ७५ अंक जोडेको म्याड्रिड दोस्रो स्थानमा रहेको छ ।