काठमाडौं । पछिल्लो नौ महिनामा उच्च शिक्षा अध्ययनका लागि नेपालबाट विदेश जाने विद्यार्थीबाट एक खर्ब रुपैयाँ भन्दाबढी बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) नेपाली विद्यार्थीहरूमार्फत उच्च शिक्षा अध्ययनका नाममा एक खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको हो । बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण आय ९.५ प्रतिशतले वृद्धि भई ६६ अर्ब ५४ करोड पुगेको छ ।
सेवा खाताअन्तर्गत भ्रमण व्यय १९.० प्रतिशतले वृद्धि भई १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ भर वैदेशिक अध्ययनका नाममा १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो ।