एन्फाको वार्षिक क्यालेन्डर: ए डिभिजन लिगदेखि महिला फ्रेन्चाइज लिगसम्म

काठमाडौं । अखिल नेपाल फूटबल संघ(एन्फा)ले सन् २०२५ को लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । बिहीबार काभ्रेको धुलिखेलमा भएको एन्फा साधारण सभाले विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिता समावेश भएको वार्षिक क्यालेन्डर पारित गरेको हो ।

एन्फाले सार्वजनिक गरेको क्यालेन्डरमा विभिन्न उमेर समूह, लिग तथा विद्यालय स्तरीय प्रतियोगिता आयोजनाको लागि समावेश गरिएको छ । एन्फाले सार्वजनिक गरेको क्यालेन्डर अनुसार लामो समयदेखि ठप्प रहेको सहिद स्मारक ए डिभिजन लिग १३ डिसेम्बर २०२५ देखि १२ जुन २०२६ सम्म र ‘बी’ डिभिजन लिग ४ मार्च २०२६ देखि १४ मे २०२६ सम्म सञ्चालन हुनेछ ।

यस्तै एन्फाले महिला फ्रेन्चाइज लिगको लागि १ डिसेम्बर २०२५ देखि २८ फेब्रुअरी २०२६ सम्म समय राखेको छ  । महिला लिग २०८२ भाद्र २२ देखि २०८२  २४ मङ्सिर सम्म हुनेछ भने, महिला लिगको छनोट चरण १ असारदेखि १६ असारसम्म सञ्चालन हुनेछ । त्यसअघि २४ वैशाख देखि २५ जेष्ठसम्म यु-१४ एन्फा महिला युथ लिग हुनेछ भने ५ भाद्रदेखि ५ असोजसम्म यु-१७ एन्फा महिला लिग हुनेछ ।

पुरुष फुटबलतर्फ फिफा अन्तराष्ट्रिय विन्डो अन्तर्गत जुन १० मा नेपालले लाओससँग एसियन कप छनोटको खेल खेल्नेछ । सेप्टेम्बर १ देखि ९ सम्म मैत्रीपूर्ण खेलहरू हुनेछन् भने अक्टोबर ९ र १४ मा नेपालले भियतनामसँग खेल्नेछ । नोभेम्बर १८ मा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ भने मार्च ३१, २०२६ मा नेपालले लाओससँग खेल्ने तालिका रहेको छ । १५ जुनदेखि २५ जुलाईसम्म श्रीलंकामा हुने साफ च्याम्पियनसिप २०२५ मा नेपालले सहभागिता जनाउनेछ ।

महिला फुटबलतर्फ फिफा विन्डो अन्तर्गत मार्च ३१ देखि अप्रिल ८, मे २६ देखि जुन ३, अक्टोबर २० देखि २८ र नोभेम्बर २४ देखि  डिसेम्बर २१ मा दुई/दुईवटा मैत्रीपूर्ण खेल र त्रिकोणात्मक प्रतियोगिता हुने क्यालेन्डरमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *