काठमाडौं । वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एकताको कार्यक्रम थियो । प्रज्ञा भवन कमलादीमा एकता कार्यक्रम राखिएको थियो । कार्यक्रम सुरु हुनै लाग्दा एकाएक नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परे । रेशम पक्राउपछि ठूलो खैलाबैला मच्चियो । प्रहरीले अदालतको आदेश कार्यान्वयनका लागि पक्राउ गरिएको र उनलाई डिल्लीबजार कारागारमा बुझाएको बतायो । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशमले राष्ट्रपतिबाट आममाफी पाएका थिए । तर उनको माफीविरुद्ध सर्वोच्चमा परेको मुद्दा विचाराधीन थियो । रेशमको मुद्दालाई सर्वोच्चले उल्ट्याएको पत्र प्रहरीकोमा पुगेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर विचाराधीन मुद्दामा कसरी प्रहरीकोमा पत्र गयो भनेर खोजी हुँदा त्यो पत्र सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले अनिधिकृतरुपमा लेखेको खुल्यो । त्यसपछि सर्वोच्चले अर्को पत्र लेखेर रेशमलाई रिहा गर्न आग्रह गर्यो । पाँच घण्टापछि रेशम त्यही दिन डिल्लीबजार कारागारबाट रिहा भए ।
रेशम पक्राउलाई कसैले सरकारले प्रतिशोध साँधेको रुपमा पनि विश्लेषण गरे । सदनमा नागरिक उन्मुक्ति पार्टीले रेशम पक्राउको सरकारले जवाफ दिनुपर्ने, नत्र सदन अवरुद्ध गर्ने र सरकार छाड्ने चेतावनी दियो । त्यसपछि बिहीबार गृहमन्त्री रमेश लेखकले सदनमा जवाफ दिँदै रेशम पक्राउमा कुनै पूर्वाग्रह नभएको बताए ।
उनले भने, ‘यस घटनामा सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको अनुरोध गर्न चाहन्छु । भविष्यमा यस्ता घटना नदोहोरिनको लागि सबैलाई सचेत र सजग बनाएको छ। यस घटनाले रेशम चौधरी र परिवारप्रति भएको अफ्ठ्यारोप्रति दुःख व्यक्त गर्न चाहन्छु ।’ सरकारकातर्फबाट यस प्रकरणको जवाफ गृहमन्त्रीले त दिए तर नागरिक उन्मुक्ति पार्टीका सांसद एवं रेशमका पिता लालबीर चौधरीले भने यसको जवाफ पार्टी अध्यक्ष एवं बुहारी रञ्जिताले पनि दिनुपर्ने माग गरेका छन् ।।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘२०८२ वैशाख १७ गते सम्मानित सर्वोच्च अदालतको शाखा प्रमुख महिमानसिंह बिष्टले अनिधिकृत पत्र तयार गरि पार्टी संरक्षक रेशमलाल चौधरीज्यूलाई नागरिक हक अधिकार उल्लंघन गरि ५ घण्टा कारागारमा कैद गरिएको जवाफ हामीहरूले सम्मानित सदनमार्फत मागेकोमा आज २५ गते गृहमन्त्रीज्यूले जवाफ दिने तयारीमा रहँदा पार्टी अध्यक्षले आज जवाफ दिनु पर्दैन ? मैले संरक्षकज्यूसँग कुरा मिलाइसकेकोछु भन्नु कस्तो खालको षड्यन्त्र हो ??? यसको जवाफ पार्टी अध्यक्षज्यूले दिनुपर्छ । पुनः हाम्रो मागलाई सम्बोधन गर्दै गृहमन्त्रीज्यूले आजै जवाफ दिनुभएकोमा धन्यवाद ।’
हुन त रञ्जिताले पनि सदनमा पार्टीका संरक्षक रेशम चौधरी पक्राउको जवाफ माग गरेकी थिइन् । उनले सदनमा भनेकी थिइन्, ‘सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु– यो घटनाको गहिरो अध्ययन होस् । वैशाख १७ गते भएको घटनामा भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस्। रेशम चौधरीप्रति भएको व्यवहारको सार्वजनिक जवाफ दिइयोस्। लोकतन्त्रप्रति हाम्रो विश्वास कायम रहोस् । र, सत्यप्रति सरकारको जवाफ नटुटोस् ।’
तर अहिले आएर पार्टीका सांसद एव रेशमका पिता लालबीर चौधरीले बुहारी एवं पार्टी अध्यक्ष रञ्जितामाथि किन जवाफ माग्दैछन् ? के त्यसो भए रेशम रञ्जिताका कारण पक्राउ परेका थिए त ?