काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।
सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा बुधबार भएको भेटमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका समग्र पक्षहरूको समीक्षाका साथै ऐतिहासिक साझेदारीलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको थियो ।
भेटमा सभापति देउवाकी धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सहभागी थिइन् । परराष्ट्रमन्त्री डा देउवाले भेटवार्ता फलदायी भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।