चिनियाँ भाषा तालिममा सहभागीलाई ३८ पत्रकारलाई प्रमाणपत्र वितरण

काठमाडौं । काठमाडौँमा आयोजित चिनियाँ भाषा तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ । काठमाडौँ विश्वविद्यालय, कन्फ्युसियस इन्स्टिच्युट र नेपाल–चाइना मिडिया फोरमको संयुक्त आयोजनामा गत पुस २ देखि चैत १८ गतेसम्म निःशुल्क रूपमा भाषा प्रशिक्षण सञ्चालन गरिएको थियो ।

बुधबार एक औपचारिक कार्यक्रमका बीच सहभागीलाई प्रमाणपत्र दिइएको हो । तालिमका क्रममा प्रा.डा.जोन श्रेष्ठ (ता लोङ) र अध्यापिका चाङ खोङ वेले चिनियाँ भाषामा दैनिक व्यावहारिक विषय, चिनियाँ वर्णमाला ( फिनयिन र हान्च), गीतसङ्गीतबारे प्रशिक्षण दिएका थिए ।

नेपालका विभिन्न सञ्चारमाध्यममा कार्यरत ३८ पत्रकार सम्मिलित तालिम समापन कार्यक्रममा फोरमका अध्यक्ष किशोर श्रेष्ठ र इन्स्टिच्युटका निर्देशक प्रा. डा.स्वाङ छेङले काठमाडौँ युनिभर्सिटी, सोसाइटी अफ म्यानेजमन्ट,बालकुमारी (कुसोम) मा प्रमाणपत्र प्रदान गरे ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । चिनियाँ भाषा बोल्न र सामान्य रूपमा लेख्न दक्ष नभएसम्म प्रशिक्षणलाई निरन्तरता दिइने पनि उनले बताए ।

इन्स्टिच्युटका निर्देशक प्रा.डा.लिले चीन र चिनियाँलाई नजिकबाट बुझ्न भाषा जान्नैपर्ने जनाउँदै भविष्यमा पनि यस्ता तालिम सन्चालन गर्दै जानुपर्ने बताए । इन्स्टिच्युटका प्रा.छिउ क्वाङ्मिन (कृष्ण) ले चिनियाँ भाषा प्रशिक्षणले दुई देश र जनताबीचको सम्बन्ध अझ प्रगाढ भएको स्पष्ट पारे ।

सो अवसरमा प्रशिक्षणमा सहभागी नेपाली सञ्चारकर्मी सजना तिमिल्सिना, मनुका कुँवर र विद्या भट्टटराईले चिनियाँ र नेपाली संस्कृति झल्कने गीत र नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *