मोरङ । मनमोहन कप फाउण्डेशनको आयोजनामा विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा कोशी प्रदेश विजयी भएको छ ।
विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा मंगलबार भएको ‘बि’ समूहको पहिलो लिग खेलमा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई ३७ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ५० ओभरको खेलमा २९ दशमलव तीन बलमा सबै विकेट गुमाइ ९३ रन बनायो । कोशीका रुपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराले १५–१५ रन बनाए ।
पुलिसका सुनिल दौल्यानले आठ ओभरमा २५ रन दिएर पाँच विकेट लिएका थिए भने विपिन कार्की र चित्र विष्टले दुई–दुई विकेट लिए । जवाफमा ९४ रन पछ्याएको पुलिसले २४ दशमलव पाँच बलमा सबै विकेट गुमाइ ५६ रन मात्र बनायो ।
कोशीको जितमा प्रेम कामतले नौ ओभरमा १५ रन दिएर पाँच विकेट लिएका थिए । कामत ‘प्लेयर अफ म्याच’ भए । बुधबार समूह ‘बि’ को दोस्रो लिग खेल कोशी प्रदेश र भारतको आसाम क्लबबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।