काठमाडौँ । नेपाली लेखक सङ्घले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई दोस्रो राष्ट्रिय लेखक पुरस्कारबाट सम्मान गरेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा मंगलबार आयोजित एक समारोहकाबीच उनलाई एक लाख राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । यसअघि पहिलो पुरस्कार साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको थियो ।
तेस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उनलाई दोसल्ला ओढाएर कदरपत्रसहित पुरस्कार प्रदान गरे ।
विसं २००० मा वीरगञ्जमा जन्मिएका डा गौतमले भारतको पूणे विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधि गरेका छन् । विसं २०२४ बाट उपन्यास लेख्न थालेका उनका २९ वटा उपन्यास प्रकाशित छन् । आधा दर्जन कथा सङ्ग्रह र एक दर्जन नाटक लेखेका डा गौतमका ४५ कृति प्रकाशित भएका कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा मन्त्री पाण्डेले मुलुकमा पछिल्लो समय आशाभन्दा निराशा बढिरहेको उल्लेख गर्दै आशाको सञ्चार गर्न सबै लाग्नुपर्ने बताए ।
पुरस्कृत व्यक्तित्व डा गौतमले साहित्यले सम्मानका लागि आभार व्यक्त गरे । उनले लोकतन्त्रलाई बलियो बनाउने साहित्यको महत्वपूर्ण भूमिका रहेको र यसलाई थप सशक्त बनाउनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न व्यक्तिलाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको थियो । यसरी सम्मान पाउनेमा डा गौतमसहित बैरागी काइँला, राजनीतिज्ञ नरहरि आचार्य, डा बेञ्जु शर्मा, डा तुलसी भट्टराई, प्राडा हेमाङ्गराज अधिकारी, साहित्यकार हरि अधिकारी, सनद रेग्मी, पूर्वमन्त्री भक्तबहादुर बलायर छन् । यस्तै, डा गोविन्दराज भट्टराई, डा व्रतराज आचार्य, रामानन्द आचार्य, गायत्री श्रेष्ठ, ज्ञानुवाकर पौडेललगायत ३२ जनालाई उक्त सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली लेखक सङ्घकी उपाध्यक्ष बिमला तुम्खेवा, साहित्यकार डा रत्नमणि नेपाल, अनुपमा रेग्मीलगायतले सम्बोधन गरेका थिए ।