काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु अब सपना मात्र हुने बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले पटक –पटक व्यवस्था र सरकार फेरिँदा पनि सरकारले २८ सालमा आएको शिक्षा ऐन फेर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भने, ‘सरकराले २८ सालमा आएको ऐन पटक पटक व्यवस्था फेरिए । पटक पटक सरकार फेरियो । तर जाबो एउटा शिक्षा ऐन ल्याउन नसक्ने यो सरकारले यो देश चलाउछु भन्नु पनि अब हामीलाई सपना जस्तो भएको छ ।’
उनले सरकारी कर्मचारीले राजनीति गर्न नपाइने व्यवस्था नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न नसक्ने भन्दै सबै भातृ संगठनहरु खारेज गर्नुपर्ने बताए ।
उनले भने, ‘आज जसरी पार्टीका शिक्षकहरु छन् पार्टीका विद्यार्थीहरु छन् । सबै भातृ संगठनहरु खारेज नै गर्नुपर्छ । किनकी सरकारी कर्मचारीले राजनीति गर्ने होइन । त्यो नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न सक्दैन ।’