काठमाडौं । गतसाता सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दुईवटा भिडियो सार्वजनिक भए । गत बिहीबार सामाजिक सञ्जालमा एउटा भिडियो आयो, जसमा ट्राफिक प्रहरीले एकजना सर्वसाधारलाई निर्घात कुटपिट गरेको देखिन्छ । सामाजिक संजालमा यो भिडियोलाई लिएर प्रहरीको आलोचना भएपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गर्यो । पछि थाहा भयो कि यो सुन्धाराको पुल नजिकै २०८१ मंसिर २३ गते घटना भएको रहेछ । व्यापक आलोचना भएपछि भिडियोमा देखिएका चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार फेरि अर्का एक जना ट्राफिक प्रहरीले पनि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा देखियो । उक्त भिडियो पनि एक वर्ष पुरानो रहेको पाइएको प्रहरीले जनाएको छ । तर प्रहरीले कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही भइरहेको बारे कुनै जानकारी गराएको छैन । तर प्रहरीले कुटपिट गर्ने ती ट्राफिक प्रहरी ०८० चैतमै सोह्रखुट्टेबाट सरुवा भएर उपत्यका बाहिरको जिल्लामा गइसकेका बताएको छ ।
अब प्रहरीले यी दुई घटनामा संलग्न प्रहरीलाई विभागीय कारबाही गरेको भन्दै विज्ञप्ति निकालेर झारो टार्छ कि अदालतमा मुद्दा लैजान्छ, त्यो भने हेर्न बाँकी छ । तर घटनापछि संविधानविद डा. भीमार्जुन आचार्यले घटना गुपचुप राखेको भन्दै आपत्ति जनाए । उनले सामाजिक संजालमा लेखेका छन्, ‘घटना गत मंसिरको हो रे । मंसिरमा कुटेको केही हुन्न वैशाख ११ मा होइन नि भन्ने तर्क आयो । घटना घटेको ३/४ महिना हुँदा पनि यसलाई गुपचुप राखिएको रहेछ । यो सामान्य विषय होइन । अपराधमा महिनाको कुरा होइन दोषीलाई कारबाही भयो वा भएन भन्ने हो । ट्राफिक प्रहरीले सिंगो पुलिस संगठनलाई बदनाम गरेको छ ।’
आचार्यले भनेजस्तो ट्राफिक प्रहरीले मात्रै सिंगो प्रहरी संगठनलाई बदनाम गरेको हो त ? संगठनको नेतृत्वबाट यस्तो काम भएको छैन त ? भन्ने प्रश्न पनि उठेको छ । त्यसका लागि २०८० चैत १४ मा फर्किनुपर्छ । त्यतिबेला गृहमन्त्री थिए रवि लामिछाने । लामिछानेमाथि सहकारी ठगीको आरोप लागेको थियो । पीडितले रविविरुद्ध कास्की प्रहरीमा जाहेरी दिएकोमा प्रहरी होइन भनेर ढाँटीरहेको थियो । त्यसपछि यसको बास्तविकता बुझ्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले २०८० चैत १४ गते नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरलाई बैठकमा बोलाएको थियो । बैठकमा कुँवरले सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरूद्ध अहिलेसम्म कुनै तथ्य प्रमाण नभेटिएको बताए । उनले बैठकमा भने, ‘अहिले सहकारीको विषयमा अलिअलि सांकेतिक रूपमा आयो । ठाडो उजुरीको रूपमा इस्यू आयो दर्ता भयो। तर कुनै पनि काम अनुसन्धान गर्दा तथ्य प्रमाणमा भेटिँदैन। कानुनी दायरामा पर्ने अवस्था छैन ।’
राज्य व्यवस्था समितिमा यस्तो अभिव्यक्ति दिएपछि कुँवर धेरै आलोचित बने र अहिले पनि आलोचित नै छन् । किनकी उनले जसरी समितिमा बोले पछि त्यो कुरा गलत सावित भयो । अहिले सहकारी ठगी प्रकरणमा चार ठाउँमा रविविरुद्ध मुद्दा चल्यो र अहिले पुर्पक्षका लागि कारागारमा छन् । कुँवरको अभिव्यक्तिले पनि संगठनलाई बदनाम गराएको थियो ।
कुँवर अहिले सेवा निवृत्त भइसकेका छन् । हिजोकाले गरेका गल्ती नयाँले नगर्लान् भन्ने सबैको अपेक्षा हुन्छ । कुँवरपछि नेपाल प्रहरीको नेतृत्व दीपक थापाले सम्हालेका छन् । तर थापाले पनि कुँवरले जस्तै संगठनलाई विवादमा ल्याउने अभिव्यक्ति दिएर आलोचित बनेका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको विषयमा उनी विवादित बनेका छन् । आदोलनकारीमाथि गोली चलाएको र म्याद नाघेको अश्रुग्यास प्रहार गरेको भन्दै प्रहरी नेतृत्वमाथि प्रश्न उठेपछि उनलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बोलाएको थियो । समितिमा थापाले म्याद गुज्रिएका अश्रुग्यास प्रयोग नभएको दाबी गरे ।
बैठकमा उनले भने, ‘म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने सन्दर्भ कसरी आयो मलाई थाहा भएन । म्याद नाघेका प्रयोग गरेका छैनौं । म्याद नाघेका अश्रुग्यास नष्ट गर्ने गरिएको छ । हामीसँग मौज्दातमा रहेको मात्र प्रयोग गरिएको हो ।’ तर घटनास्थलमा भेटिएका खोकामा एक्सपाइरी डेट २००८ लेखिएको थियो । ससदीय समितिमा गएर झुट बोलेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइजीपी थापा नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष बनेको आरोपनै लगाए । अध्यक्ष लिङ्देनले भने, ‘प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्यास कसरी एक्सपाइ हुन्छ भन्छ । प्रहरी प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन । प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त । हामीले भेटेको खोका, अश्रुग्यासका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ । अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्यास कसरी एक्सपाइ हुन्छ भन्छ ।’
उच्च अदालत रुपन्देहीले रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएपछि राति नै प्रहरी उनको निवासमा पुगेका थिए । रविको निवासमा पुगेका एक जना प्रहरी अधिकृतले उनलाई अन्तिम इच्छा के भनेर सोधेको भिडियो बाहिरियो । ती प्रहरी अधिकृतको अभिव्यक्तिको सर्वत्र आलोचना भयो । प्रहरीले यसमा गल्ती भएको भनेर माफी मागेन । बरु आईजीपी थापाले अहिले प्रहरी अधिकृतको मनसाय त्यस्तो नभएको र जिब्रो चिप्लिएको हुनसक्ने भन्दै जवाफ दिएका छन् । यस्तो अभव्यिक्ति दिने प्रहरी अधिकृतलाई कारबाही पो गर्नुपर्ने हो । के रविलाई मृत्युदण्ड दिन लागिएको थियो र अन्तिम इच्छा सोध्न ?
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । राज्य विप्लवविरुद्ध गतिविधि गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । तर मिश्रलाई अदालतमा उपस्थित गराउँदा हत्कडी लगाइएको भन्दै आलोचना भएको छ । हिजो नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ परेका बालकृष्ण खाँण र टोपबहादुर रायमाझीलाई हत्कडी नलगाउने प्रहरीले किन मिश्रलाई हत्कडी लगाएको भन्दै प्रहरीको आलोचना भएको हो । तर प्रहरी प्रमुख थापा हत्कडी लगाउनुपर्ने अवस्था भएर नै लगाउनु परेको बताउँदै आएका छन् । गम्भीर अपराधमा मुछिएका नेतालाई विना हत्कडी घुमाउने प्रहरीले मिश्रलाई हत्कडी लगाएर घुमाउनुमा प्रतिशोध पक्कै देखिन्छ । त्यसैले प्रहरी नेतृत्वले आगामी दिनमा यस्ता विवादास्पद विषयमा अभिव्यक्ति दिँदा र व्यहार गर्दा आलोचित नहुने गरी काम कारबाही गर्ने कि ?