नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय

चितवन ।  नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । अण्डाको लागत मूल्यसमेत नपाउँदा संकटमा परेका किसानलाई केही राहत मिलोस् भन्ने उद्देश्यले मूल्य समायोजन गरिएको हो ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार शनिबार सम्पन्न छलफलपछि आजदेखि नयाँ मूल्य लागू गरिएको छ । ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० गोटा) रु चार सय ३०, मध्यम अण्डाको रु तीन सय ८० र ‘एक्सएल’ अण्डाको रु चार सय ५० कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य रु तीन सय ५० मा झरेको थियो ।

फार्म मूल्य अनुसार ‘एक्सएल’ अण्डाको प्रतिपेटी (सात क्रेट) रु तीन हजार १४०, ठूलो अण्डाको रु तीन हजार र मझौलाको रु दुई हजार ६५० कायम गरिएको छ । उत्पादन लागत प्रतिगोटा रु १६ दशमलव ५६ पर्ने अण्डाले पछिल्लो समय बजारमा लागतभन्दा कम मूल्य पाउन थालेपछि किसान निराश बनेका थिए ।

अध्यक्ष पोखरेलले गर्मीका कारण कुखुरामा रोग बढेर उत्पादन घटेको र माग उच्च बनेका कारण अण्डाको मूल्य उकालो लागेको जानकारी दिएका छन् । उनका अनुसार अघिल्लो वर्ष उच्च मूल्य हुँदा ठूलो अण्डाको प्रतिपेटी रु तीन हजार छ सय ७५ पुगेको थियो ।

सङ्घका सचिव मदन पोखरेलले कुखुराको संख्या घटेपछि उत्पादनमा गिरावट आएको र माग बढेकाले अण्डाको मूल्य क्रमशः वृद्धि हुने संकेत देखिएको बताएका छन् । हाल दैनिक करिब ३० लाख गोटा अण्डा उत्पादन भइरहेको छ ।

नेपालमा कुखुरापालन व्यवसायीले लागत मूल्य नपाउँदा धेरै किसान व्यवसाय छाड्न बाध्य भएका थिए । अण्डाको मूल्य समायोजनले अहिले किसानलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *