काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले आयोजना गरेको पहिलो दिन नेपाल रातो र पहेंलो विजयी भएका छन् । शनिबार दिउँसो भएको पहिलो खेलमा नेपाल रातोले नेपाल निलोलाई १ सय ९९ रनले हराएको हो ।
मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपाल रातोले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ४७ रन बनाएको थियो । नेपाल रातोको लागि भिम शार्कीले १ सय २६ रन बनाउँदा शुभ कान्सकरले ७३ रन बनाए । निलोको लागि करण केसीले दुई र हेमन्त धामीले एक विकेट लिए ।
जितको लागि ३ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको निलोले ३१.१ ओभरमा अलआउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो । नेपाल निलोको लागि कुशल मल्लले २६ र सन्दीप जोराले २५ रन बनाए । रातोको लागि प्रतिष जिसी र शाहाब अलामले तीन/तीन विकेट लिए ।
यस्तै तल्लो मुलपानी मैदानमा भएको खेलमा नेपाल पहेंलोले नेपाल हरियोलाई १७ रनले हराएको हो । नपहिले ब्याटिङ गरेको पहेंलोले निर्धारित ५० ओभरमा अलआउट हुँदै १ सय ९६ रन जोडेको थियो । पहेलोको लागि रुपेश कुमार सिंहले ५७ र कुशल भुर्तेलले ४४ रन बनाउँदा हरियोको सन्तोष यादव र सागर ढकालले तीन/तीन विकेट लिए ।
जितको लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको हरियोले ४३.१ ओभरमा अलआउट हुँदै १ सय ७९ रनमात्र बनाउन सक्यो । हरियोको लागि दिलिप नाथले ३९ र अर्जुन कुमालले ३० रन बनाए । पहेंलोको लागि कमल सिंह एरी र दीपेन्द्र सिंह एरीले दुई/दुई विकेट लिए ।