काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निष्ठा, त्याग र जीवनशैलीबाट हामी सबैले सिक्नुपर्ने बताएकी छन् । साथै उनले नेता अधिकारीले राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको बताइन् ।
२६ औं मनमोहन स्मति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले सच्चा साम्यवादीका रुपमा नेता अधिकारीले अवलम्बन गरेको मार्गलाई सबैले अनुशरण गर्नुपर्ने बताइन् ।
अधिकारीको कार्यकालमा देशको विकास तल्लो तहको विकासबाट मात्र सम्भव हुने वास्तविकतालाई मनन गरी ‘आफ्नो गाउँ आफै बनाउँ’ अवधारणा अघि सारेर उहाँले राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।
उनले भनिन्,‘मनमोहन अधिकारी नेतृत्वमा गठित एमालेको सरकार सामाजिक न्याय, सुशासन, पारदर्शीता र समावेशीताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको थियो । त्यस सरकारले अघि सारेका आफ्नो गाउँ आफंै बनाउ, जेष्ठ नागरिकहरुको लागि सम्मान स्वरुप वृद्धभत्ता जस्ता कार्यक्रमले राष्ट्र निमार्णमा सफल भएको थियो । मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरुको जस अझैपनि नेकपा एमालेले पाइरहेको छ भन्दा अतिसयुक्ति नहोला ।’