सडकमा हिँड्दै गरेको व्यक्तिलाई पछाडिबाट गोली हानेर मारिएको छ, त्यसको पाप मिश्रले बोकिदिनुपर्ने ?

-नारायण गाउँले ।

रविन्द्र मिश्रजीले धेरै विरोधी कमाउनुभएको रहेछ ! नत्र एउटा राजनैतिक आन्दोलनमा सहभागी भएको र नेतृत्व गरेकै भरमा यत्रो दिन थुनिँदासमेत उहाँकै पार्टीबाहेक कसैले बोलेको सुनिएन । बोल्यो कि मण्डले भइने डर हुने रहेछ । राज्यले अत्यधिक र अनियन्त्रित बल प्रयोग गरेर भड्काएको अनि आन्दोलनकारीहरू असंयमित बनेर भएका हिंसात्मक घटनाहरूको छानबिन र त्यसमा संलग्नहरूलाई कारबाही गर्नु त जरूरी थियो तर बोलेकै भरमा र आन्दोलन गरेकै भरमा राज्यद्रोहको मुद्दा लगाएर मिश्रलाई सडाउन खोज्नु कायरता हो । सडकमा हिँड्दै गरेको व्यक्तिलाई पछाडिबाट गोली हानेर मारिएको छ । त्यसको पाप मिश्रले बोकिदिनुपर्ने हो र ? त्यो आन्दोलनमा प्रायः सबै दल ठूलै केही हुन्छ कि भनेर डराएका कारण असमानुपातिक रूपले शक्तिप्रयोग र नियोजित रूपले घूसपैठ भएको भन्ने स्पष्ट सङ्केत भेट्न सकिन्छ । छानबिनसम्म नगर्ने सरकारी हठ पनि शङ्कास्पद छ ।

पञ्चायतमा पनि बोल्नै नपाइने भन्ने त थिएन । पञ्चायत विरुद्धमा बोल्न नपाइने होला, पञ्चायतको पक्षमा त जति पनि बोल्न पाइन्थ्यो । लोकतन्त्रमा पनि लोकतन्त्रकै पक्षमा मात्रै बोल्न पाइने हो भने के पÞmरक भयो र ? आन्दोलन या विद्रोह मत्थर पार्न नेतृत्वलाई केही समय नजरबन्द या हिरासतमा राख्ने कुरो अलग होला तर यसरी भयङ्कर अपराधी र राज्यद्रोहीजस्तै जेलभित्रै राख्ने नियत त गलत नै हो ।

आन्दोलन या विद्रोहमा यस्ता घटना यसअघि पनि घटेका छन् । जहाजमा बम हानिएको छ । झापामा घाँटी रेटिएको छ । स्कुल बसमा पेट्रोल बम हानिएको छ । डेकेन्द्र थापाजस्ता पत्रकारलाई जिउँदै गाडि़एको छ । ककसलाई जेल हाल्ने होला ? एनसेल टावरमा बम हान्नेहरू पनि छन् । पुलिसलाई गला रेटेर मार्ने पनि छन् । के मिश्रले त्यस्तै अपराध गरेका हुन् र ?

न क्रिमिनल हिस्ट्री छ न प्रत्यक्ष संलग्नता छ । उनलाई राजा मन पर्यो, आन्दोलनबाट संस्था बिदा भएको थियो, आन्दोलनबाटै आउँछ कि भने, लागे । उनको माग र विचारसँग मेरो पनि सहमति छैन । तर उनलाई जेलमा सडाएर मात्रै हाम्रो व्यवस्था न्यायपूर्ण र लोकतान्त्रिक बन्ने हो भने मलाई त्यसमा पनि आस्था छैन ।
रैती सैती भन्ने पनि वैयक्तिक सोच र छनोट हो । उनी रैती बन्न बेलायतमै सजिलो थियो, नेपाल फर्किए । आज लाखौं युवा रैती बन्न युके, अस्ट्रेलिया, क्यानडा, जापान या न्युजिल्याण्ड जान तयार देखिन्छन् । त्यहाँका नागरिक पनि रैती भनेर, आत्मसम्मान र अस्तित्व खुम्च्याएर बाँचेका छैनन् । अनि कुनै बेला राजा नै राजा भएको छिमेकी भारतमा लौ गणतन्त्रले देश बर्बाद भयो भनेर कसैले टाउको फुटाएको पनि छैन ।

व्यक्तिको सोच र राजनैतिक धार बदलिन्छ । उनी पनि बदलिए या फेरि बदलिएलान् । लोकतन्त्रको ब्युटी यही हो भनिन्छ । म लोकतन्त्रमा विश्वास राख्ने नागरिक भएकाले उनको रिहाईको माग गर्छु । राजनैतिक स्वार्थ र पदमाथि दाउ नभएकाले मलाई मण्डले भनिनुसँग चिन्ता छैन । त्यसो भन्ने तपाईंको लोकतान्त्रिक हकÞको पनि म सम्मान गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *