काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि राजीनामा दिने बताएका छन् । शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले १४ महिनापछि आफूले राजीनामा दिने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् ।
उनले भने, ‘अब १४ महिनापछि मैले राजीनामा गर्छु, त्यसपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ ।’
कांग्रेस महामन्त्री गगन थापाले पछिल्लो समय सरकारको आलोचना गर्दै आएका छन् । उनले सरकारको गति यस्तै भए सरकार छाड्ने चेतावनीसमेत दिएका छन् । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि पार्टी संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवा थाइल्याण्डबाट फर्केपछि गठबन्धन गर्ने विषयमा कुरा गर्ने बताएका थिए ।
सत्तापक्ष र प्रतिपक्षी दलका अभिव्यक्तिपछि पछिल्लो समय सत्ता परिवर्तनको हल्ला चलेको छ । शुक्रबार थाइल्याण्डबाट स्वदेश फर्किएका सभापति देउवाले भने सत्ता परिवर्तनको कुनै सम्भावना नभएको बताएका छन् ।