मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई

राजविराज (सप्तरी) । राजविराजमा आज सम्पन्न तेस्रो संस्करणको मधेस प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि मिथिला वारिर्यसले जितेको छ । फाइनल खेलमा मिथिला वारियर्सले बलानबिहुललाई ५ विकेटले पराजित गरेको हो । । विजेता मिथिलाले रु ९ लाख एक हजार तथा उपविजेता बलानबिहुले रु ४ लाख एक हजार पुरस्कार प्राप्त गरे ।

टस जितेर पहिला ब्याटिङ गर्दै बलानबिहुले १९ दशमलव  ३ ओभरमा सबै बिकेट गुमाएर १५३ रन बनायो । एक सय ५४ रनको विजयी लक्ष्य मिथिला वारियर्सले १८ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

बलानबिहुका लागि विवेक यादवले सर्वाधिक ४५ रन बनाए । यस्तै लोकेश बमले ४१, सुजन थपलियाले २८ तथा फिर्दाेष अन्सारीले १५ रन बनाए ।  बलिङतर्फ मिथिला वारियर्सका वसन्त खत्रीले तीन, शेर मल्ल र कुुशल भुर्तेलले दुई दुई तथा नन्दन यादवले एक विकेट लिए ।

यसैगरी मिथिलाका लागि कुशल भुर्तेलले सर्वाधिक ५८ रन बनाए । यसैगरी रवि साहले ४४ र बसिर अहमदले २५ रन बनाए । बलिङतर्फ बलानबिहुका विवेक यादव र अरनिको यादवले दुई दुई विकेट लिए । ‘प्लेयर अफ दी म्याच’ मिथिलाका कुशल भुर्तेल घोषित भए ।

‘प्लेयर अफ दी सिरिज’ विशाल पटेल (जनकपुर सनराइज), उत्कृष्ट ब्याटर आशिफ शेख (जनकपुर सनराइज) तथा उत्कृष्ट बलर शेर मल्ल (मिथिला वारियर्स) घोषित भएका  आयोजक समितिका अध्यक्ष सञ्जिवनारायण यादवले जानकारी दिए । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य आयुष श्रेष्ठलगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *