काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) बन्द हुने भएको छ । एलन मस्क नेतृत्वको डज विभागले संघीय खर्च कटौतीसम्बन्धी पहलअन्तर्गत यसलाई बन्द गर्ने निर्णय गरेको हो ।
यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासन र डजद्वारा अमेरिकी वैदेशिक सहायता प्रणालीमाथिको पछिल्लो आक्रमणको रूपमा लिइएको छ । प्रशासनले यसअघि अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था युएसएआईडी बन्द गर्न, अमेरिकी शान्ति संस्था र अफ्रिकी विकास फाउन्डेशन माथि पनि प्रहार गरेको थियो । यस्ता धेरै प्रयासहरू हाल कानुनी चुनौतीको सामना गरिरहेका छन् ।
सन् २००४ मा अमेरिकी कांग्रेसद्वारा स्थापना गरिएको एमसीसीले युक्रेन, एल साल्भाडोर, र नेपालसहितका दर्जनौं विकासशील राष्ट्रहरूलाई पूर्वाधार निर्माण र नीतिगत सुधारका लागि समय–सीमित अनुदान प्रदान गर्दै आएको छ । सीएनएनका अनुसार एमसीसीका कर्मचारीहरूलाई अग्रिम अवकास योजना वा स्थगित राजीनामा कार्यक्रम रोज्न भनिएको छ ।
यस योजनाअनुसार, रोजाइमा परेका कर्मचारीहरूलाई सेप्टेम्बर ३० सम्म प्रशासनिक बिदामा राखी तलब दिइनेछ । एमसीसी परियोजना अन्तर्गत नेपालमा पनि सडक र प्रसारण लाइनका काम भइरहेका छन् । यो कार्यक्रम बन्द भएमा यी परियोजना अलपत्र पर्नेछन् ।